‘डिसेम्बर फल्स’को दोस्रो गीत ‘यो के भयो’ सार्वजनिक, भिडियोमा देखियो आर्यन र उपसनाको गज्जबको केमिस्ट्री!

पुष ०९, २०७९


काठमाडौ ,९ पौष । करिब अढाई महिनादेखि सुनसान रहेको चलचित्र क्षेत्रलाई चलायमान गराउन सक्ने चलचित्रको रुपमा लिइएको ‘डिसेम्बर फल्स’को दोस्रो गीत सार्वजनिक भएको छ। शनिबार सार्वजनिक ‘यो के भयो’ बोलको भिडियोमा आर्यन सिग्देल र उपसना सिंह ठकुरीको जोडी निकै आकर्षक देखिएको छ।

आगामी शुक्रबार अर्थात् पौष १५ बाट प्रदर्शन हुने चलचित्र ‘डिसेम्बर फल्स’को यसअघि सार्वजनिक गीत,टिजर र ट्रेलरले निकै राम्रो हाइप बनाएको छ। शनिबार रिलिज ‘यो के भयो’ गीतले चलचित्रको प्रचारप्रसारलाई थप बलियो बनाएको छ।

चलचित्रको सार्वजनिक गीतमा   अस्मिता अधिकारी र मनिष ढकालको स्वर रहेको छ भने सुशान्त गौतम र अनिल शर्माको शब्द, सुशान्त गौतमकै संगीत सुन्न सकिन्छ ।रामप्रसाद रिजालको प्रस्तुति रहेको सिनेमाका कार्यकारी निर्माता लक्ष्मण रिजाल हुन् । सिनेमामा राजकुमार भट्टको पनि लगानी छ ।

चलचित्रको यो गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । कविले चलचित्रका मुख्य दुई कलाकार आर्यन सिग्देल र उपासना सिंह ठकुरीको जोडीलाई उत्कृष्ट तरिकाले फिचरिङ गरेका छन् । साथमा, भिडियोको छायांकन, लोकेशन पनि उत्कृष्ट छ ।

चलचित्रमा आर्यन र उपसनाका अलवा शिवहरि पौडेल, सलोन बस्नेत, नागेन्द्र रिजाल, नरेश भट्टराई, शिशिर राना लगायतका कलाकारको अभिनय छ ।

प्रविण झाको निर्देशनमा तयार भएको चलचित्रमा महेश गुप्ताको छायांकन, विपिका खनालको कथा, श्री श्रेष्ठको एक्सन, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन छ ।