हल नभएका गाउँगाउँमा चलचित्र विकास बोर्डको घुम्ती सिनेमा अभियान

माघ २४, २०७९


चलचित्र विकास बोर्डले पूर्वका पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा घुम्ती सिनेमा तथा साक्षरता अभियान सञ्चालन गरेको छ । माघ १२ देखि १८ गतेसम्म चलेको अभियान अन्तर्गत फिल्म हल नभएका ती जिल्लामा खुल्ला ठाउँमा अस्थायी हलको स्वरुप तयार पारेर फिल्म देखाइएको थियो । बोर्डका अधिकृत हरिसिंह रैखोलो र गिरीश शर्माले स्थानीय बासिन्दालाई फिल्मको सामाजिक र सांस्कृतिक महत्वारे जानकारी गराएका थिए । कार्यक्रममा सम्बन्धित गाउँपालिका र नगरपालिकाका प्रमुखको समेत उपस्थिति थियो ।

सामाजिक अभियन्ता तथा फिल्म ‘अग्निदहन’ का निर्माता कोविदशरण उपाध्याय र लिम्बू फिल्मकर्मी सूर्यप्रकाश चेम्जोङले अभियानबारे प्रकाश पारे । हलको सुविधा नभएका सातै प्रदेशका टोल र बस्तीमा घुम्ती सिनेमा सञ्चालन गरिएको छ । सरकारको चालु आर्थिक वर्ष २०७९(८० को स्वीकृत ‘घुम्ती सिनेमा वा क्लबमार्फत शैक्षिक संस्थाहरुमा समेत गरी सातै प्रदेशमा सिनेमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने’ अन्तर्गत यो अभियान रहेको छ । हलको पहुँचबाट टाढा रहेका बजार, गाउँबस्तीमा पुगेर राष्ट्रिय भाषा र स्थानीय भाषामा निर्माण भएका फिल्म देखाउने र त्यसतर्फ फिल्म हेर्ने संस्कृतिको विकास गर्ने सरकारको योजना छ ।

इलामको सन्दकपुर गाउँपालिका, देउराली बजारमा रहेको सामुदायिक भवन, पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका, घुर्बेसी पञ्चमी बजारस्थित घुर्बेसी पञ्चमी माध्यमिक विद्यालय र शान्ति बाल विकास बोर्डिङ स्कुल र घुर्बेसी पञ्चमी बजारमा रहेको टहरा तथा ताप्लेजुङको फुङलिङ नगरपालिका, फुङलिङ बजारस्थित जिल्ला समन्वय समितिमा रहेको सिटी हलमा नेपाली फिल्महरु ‘अग्निदहन’, ‘कृ’ र ‘क्याप्टेन’ प्रदर्शन गरिएको थियो । फिल्म हेरेका दर्शक, विद्यार्थी, शिक्षक, अभिभावकले मनोरञ्जन मात्र प्रदान नगरी समाज रुपान्तरण, सामाजिक चेतना, शिक्षा र सन्देश समेत प्रवाह गर्ने माध्यम समेत रहेको प्रतिक्रिया दिएको बोर्डले जनाएको छ ।