आज पनि देशभर पानी पर्ने, यी प्रदेशमा हुँदैछ ‘भारी वर्षा’
हाल बागमतीसहित देशका पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सातै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक-दुई स्थानमा भने धेरै ठूलो (भारी वर्षा) पानी पर्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।
साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै ठूलो पानी पर्न सक्ने सम्भावना छ ।
आज राति मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ ।
सोमबार भने केही क्षेत्रमा मात्रै वर्षा हुने महाशाखाको पूर्वानुमान छ । सोमबार कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मात्रै वर्षाको सम्भावना छ ।
तर, मंगलबार भने फेरि सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यसअघि शनिबार देशभर ठूलो पानी परेको थियो । वर्षाले संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति भएको छ ।
राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बाढी–पहिरोमा परी नौ जनाको मृत्यु भएको छ । अन्य सात जना बेपत्ता छन् ।
अविरल वर्षापछिको बाढी तथा पहिरोले सात प्रदेशका प्रमुख राजमार्गसहित ५० भन्दा बढी सडक अवरुद्ध बनेका छन् ।
जोखिम बढेकाले केही दिन यात्रा नगर्न सुझावसहितको सूचना सर्वसाधारणका लागि सरकारले जारी गरेको छ ।