तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिए सी चिनफिङ

फागुन २६, २०७९


फागुन २६, चिनियाँ संसदले सी चिनफिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको छ । शुक्रबार नेशनल पिपुल्स कंग्रेसले मतदानमार्फत् चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव चिनफिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको समाचार संस्था रोयटर्सले जनाएको छ । राष्ट्रपतिका लागि चिनफिङ एक्ला उम्मेदवार थिए ।

संसदका तीन हजार बढी सदस्यले विद्युतीय मतदान गरेका थिए । मतदान गर्न एक घन्टा लागेको थियो भने गणना सुरू भएको १५ मिनेटमै अन्तिम नतिजा सार्वजनिक भएको थियो । गणतान्त्रिक चीनमा माओ त्सेतुङ पछि तेस्रो कार्यकाल राष्ट्रप्रमुख बन्ने सी पहिलो व्यक्ति हुन् । यसअघि चिनियाँ संविधानमै दुई कार्यकालभन्दा बढी पार्टीको महासचिव र राष्ट्रपति बन्न नपाइने व्यवस्था गरिएको थियो ।

सीले आफ्ना लागि उक्त संवैधानिक व्यवस्था नै हटाएका थिए । ६९ वर्षीय सी फेरि राष्ट्रपति बन्छन भन्ने कुरा गत अक्टोबरमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको अधिवेशनबाट नै टुंगो भएको थियो । त्यतिबेला उनी तेस्रो कार्यकालका लागि महासचिव चुनिएका थिए ।