राष्ट्रपति रामचन्द्र पौडेलको शपथ भोलि

फागुन २८, २०७९


फागुन २८, नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शपथ लिने भएका छन् । राष्ट्रपतिको कार्यालयले शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह आयोजना गर्ने भएको छ । प्रधानन्यायाधीशबाट राष्ट्रपतिले शपथ लिने व्यवस्था छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ खुवाउनेछन् । पौडेल फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका थिए । राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ । उनी निजी निवास बूढानिलकण्ठ सर्ने तयारीमा छिन् ।