ICC लिग-२ : नेपालले खेल्ने स्कटल्याण्ड ट्राइ सिरिज स्थगित !

जेठ ३१, २०७७


काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आगामी जुलाइमा स्कटल्याण्डमा खेल्ने तय भएको ट्राइ-सिरिज स्थगित भएको छ ।

काेरोना भाइरसका कारण नेपाल, स्कटल्याण्ड र नामिबियासहितको नवौँ चरणको उक्त सिरिज स्थगित गरिएको स्कटल्याण्ड क्रिकेट बोर्डले जनाएको छ ।

उक्त सिरिज आईसीसीले जुलाई ४ देखि ११ तारिखसम्मका लागि तालिका सार्वजनिक गरेको थियो । आईसीसीसितको छलफलपछि स्कटल्याण्ड क्रिकेट सङ्घले सिरिज स्थगन गर्ने निर्णय गरेको हो । सहभागी राष्ट्र र आईसीसीसित सहकार्य गरी अर्को तालिका सार्वजनिक गरिने छ ।

यसअघि अप्रिल २० देखि २७ तारिखसम्म नामिबियामा हुने तय भएको नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिज तथा जुन ९ देखि १६ तारिखसम्म पपुवा न्यूगिनीमा हुने भनिएको नेपाल, यूएई र पपुवा न्यूगिनीबीचको त्रिकोणात्मक सिरिजसमेत स्थगन गरिएको थियो ।

आईसीसी लिग–२ अन्तर्गत सात देशबीच प्रतिस्पर्धा भइरहेको छ । लिगमा नेपालले अहिलेसम्म चार खेल खेल्दै दुईमा जित तथा दुईमा हार ब्यहोर्दै चार अङ्क जोडेर छैटौँ स्थान बनाएको छ । आईसीसी विश्वकप लिग–२ सन् २०२२ सम्म सञ्चालन हुनेछ ।