चीन र रुसबाट खोप ल्याउन प्रक्रिया सुरु : प्रधानमन्त्री

बैशाख २०, २०७८     सम्पूर्ण कुरा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन र रुसबाट कोभिड-१९ विरुद्धको खोप खरिद प्रक्रिया सुरु गरिएको बताएका छन् ।

सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत पनि खोप ल्याउन सरकार प्रयत्नशिल रहेको जानकारी दिए ।

यसअघि पनि राजदूतसहित रुसी प्रतिनिधिमण्डललाई भेटेर खोप आपूर्ति गर्न आग्रह गरेका प्रधानमन्त्रीले ती मुुलुकबाट खोप ल्याउने औपचारिक जानकारी गराएका हुन् ।

रुसको स्पुतनिक-भी र चीनको सिनोफार्मले विकास गरेको भेरोसेल खोपलाई आपतकालिन प्रयोगका लागि सरकारले अनुमति दिइसकेको छ । चीन र रुसले नेपाललाई थप खोप उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेका छन् ।

देशवासीलाई सम्बोधनको क्रममा प्रधानमन्त्रीले कोभिड-१९ विरुद्ध आवश्यक पर्ने अक्सिजन, खोप लगायतका सामाग्री सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल पनि गरे ।

भारतबाट खोप आपूर्ति नहुँदा खोप अभियान प्रभावित बनिरहेको अवस्थामा प्रधानमन्त्रीले भारतको विकल्पमा खोप आपूर्ति गर्ने जानकारी दिएका हुन् ।