काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञा आजबाट लागू, अत्यावश्यक बाहेकका कार्यालय बन्द

बैशाख ३०, २०७८


३० वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञा लागू भएको छ । यसअवधिमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू पनि बन्द गरिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले सो निर्णय गरिएको हो ।

औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।

निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालयबाहेक अन्य सबै जिल्लास्थित कार्यालय वैशाख ३० गतेदेखि बन्द गर्न/गराउन आदेश जारी गरिएको छ । अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिई न्यूनतम जनशक्तिमा काम गर्न भनिएको छ ।