आज देशका यी स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने

बैशाख ३०, २०७८


काठमाडौं । बिहिबार देशका धेरैजसो स्थानमा हल्का पानी परिरहेको छ ।देशका अधिकांश भू-भागमा सामान्य बदली रही गण्डकी प्रदेश तथा बागमती प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम पानी परिरहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भू-भाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको देखिन्छ । 

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित पानी पर्ने सम्भावना रहेको छ। यस्तै सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ । 

त्यस्तै आज राति देशका प्रदेश १ सहित देशका पहाडी भू-भागहरुमा सामान्य बदली रहनेछ। प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका थोरै स्थानमा बदली रही पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक(दुइ स्थानहरुमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।