चपस दाङले स्थापना दिवसमा अन्तरक्रिया गर्ने

बैशाख ३१, २०७८     शिव पुन


दाङ ३१ बैशाख।
चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले आगामी जेठ-७ गते भर्चुअल अन्तरक्रिया गर्दै संघको २२ औं स्थापना एवं चलचित्र पत्रकारिता दिवस मनाउने भएको छ। कोभिड-19 महामारीका कारण हाल देश नै लकडाउनमा रहेकाले भौतिक उपस्थितिमा कुनै पनि कार्यक्रम गर्न सकिने अवस्था नरहेकाले संघले यस्तो निर्णय गरेको हो। शुक्रबार संघका अध्यक्ष शिव पुनको अध्यक्षतामा बसेको कार्यसमितिको भर्चुअल बैठकले “चलचित्र पत्रकारिता र पत्रकारको वर्तमान अवस्था” विषयक अन्तरक्रिया गर्ने निर्णय गरेको छ।

साथै नेपाल पत्रकार महासंघ दाङ शाखाले संचालन गरेको आइसोलेसन व्यवस्थापन तथा संचालन गर्न त्यस्तै पत्रकार देविराम कुसारीको अगुवाईमा कोभिड-19 बाट मृत्यु भएकालाई दाहसंस्कार लागि आवश्यक काठ खरिद तथा घाट व्यवस्थापन गर्न संचालित “काठ बैंक”अभियानलाई स्थापना दिवसकै दिन संघको तर्फबाट केही आर्थिक सहयोग समेत गर्ने निर्णय भएको छ ।

त्यस्तै वैठकले कोभिड-19 बाट मृत्युु भएका चलचित्र पत्रकार संघ दाङका निवर्तमान अध्यक्ष ध्रुव राज न्यौपानेका ससुराबुवा महेन्द्र राज शर्मा, कलाकार/निर्देशक संन्दिप भुसाल र पत्रकार विमल गौतमका दाइ युवा व्यवसायी कमल गौतमको निधनप्रती गहिरो समवेदना प्रकट गरेको छ भने कोभिड-19 बाट संक्रमित संघका निवर्तमान अध्यक्ष ध्रुव राज न्यौपाने,संस्थापक उपाध्यक्ष चेतन रेग्मी लगाएत जिल्ला र देशभरका सम्पूर्ण पत्रकारहरुको शीघ्र स्वास्थ लाभको कामना गरेको छ। साथै बैठकले कोभिड-19 बाट संघका कार्यसमिति र साधारण सदस्यलाई केही समस्या परेमा संघका पदाधिकारीसंग सम्पर्क गर्नपनी अनुरोध गरेको छ।

हरेक वर्षको चलचित्र पत्रकारिता दिवसका दिन वितरण गर्दै आएको पुरस्कार तथा सम्मानको कार्यक्रम तत्काललाई स्थगित गरिएको अध्यक्ष पुनले जानकारी गराएका छन् । हरेक वर्षको जेठ-७ गतेलाई संघले आफ्नो स्थापन र चलचित्र पत्रकारिता दिवसको रुपमा मनाउदै आएको छ।

निवर्तमान अध्यक्ष,सल्लाहकार र कार्यसमितिका सदस्यको उपस्थिति रहेको भर्चुअल बैठकको सहजीकरण सचिव पुर्ण के.सी.ले गरेका थिए।