टाइगर र दिशा विरुद्ध एफआइआर दर्ता

जेठ २०, २०७८


बलिउड नायक टाइगर श्राफ र नायिका दिशा पटानीका विरुद्ध मुम्बई पुलिसले एफआइआर दर्ता गरेको छ । यी दुई कलाकारलाई जुन १ तारिखमा मुम्बइमा घुमफिर गरिरहेको समयमा प्रहरीले सोधपुछ गरेको थियो ।

यी दुई कलाकार बाहिर निस्कनुको ठोस कारण केही पनि नपाएको मुम्बई प्रहरीले भारतीय मिडियालाई जानकारी दिएको छ । उनीहरुको कागजपत्र चेक गरेर प्रहरीले छाडेको थियो । अब भने प्रहरीले घटनाको छानबिन गरेर एफआइआर दर्ता गरेको छ ।

मुम्बई प्रहरीको आधिकारिक ट्विटर ह्यान्डलमा यी दुइका विरुद्ध धारा १८८ अनुसार एफआइआर दर्ता गरिएको हो । मुम्बइमा जुन १५ तारिखसम्म कफ्र्यू लगाइएको छ भने बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म मात्र बाहिर निस्कने छुट छ ।

भारतीय मिडियाका अनुसार, मंगलबार जिम सकेर दिशा र टाइगर लामो ड्राइभमा निस्किएका थिए । टाइगर कारको पछाडि सिटमा बसेका थिए भने दिशा अगाडि सिटमा बसेकी थिइन् । दुई कलाकारको आधार कार्ड चेक गरेर प्रहरीले उनीहरुलाई छाडेको थियो ।