संसद विघटन मुद्दामा ४ जना एमिकस क्युरी चयन

असार ०२, २०७८


२ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासलाई सहयोग गर्न चार जना एमिकस क्युरी (अदालतको साथी) चयन भएका छन् ।

मंगलबार नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले दुई/दुई जना जना वरिष्ठ अधिवक्ता एमिकस क्युरी चयन गरेको हो ।

नेपाल बारले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीको रुपमा चयन गरेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । वैद्य पूर्व महान्यायाधिवक्ता हुन् भने पाठक नेपाल बारको पूर्व उपाध्यक्ष हुन् ।

त्यस्तै सर्वोच्च अदालत बार एशोसिएसनले पनि मंगलबार नै दुई जना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीको रुपमा मनोनयन गरेको छ । सचिव ऋषिराम घिमिरेका अनुसार वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरीको रुपमा चयन भएका छन् ।