कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा

असार १५, २०७८


१५ असार, काठमाडौं । ब्राजिलमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिका फुटबलको कवाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार समूह ‘ए’ अन्तर्गत अन्तिम दुई खेल सकिएपछि क्वाटरफाइनल समीकरण तय भएको हो ।

विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपामा यस पटक दक्षिण अमेरिकाका १० टिमले प्रतिस्पर्धा गरेका थिए जसमा ८ टिम क्वाटरफाइनल पुग्दा दुई टिम मात्र समूह चरणबाटै बाहिरिए ।

समूह ‘बी’ बाट आयोजक ब्राजिल समूह विजेता बन्यो । पेरु दोस्रो, कोलम्बिया तेस्रो र इक्वेडर चौथो बन्दै क्वाटरफाइनल पुगेका छन् ।

अब क्वाटरफाइनलमा समूह ‘ए’ को विजेता अर्जेन्टिनाले समूह ‘बी’ को चौथो स्थानमा रहेको इक्वेडरसँग खेल्नेछ । यस्तै समूह ‘बी’ को विजेता ब्राजिलले समूह ‘ए’ को चौथो स्थानको चिलीसँग खेल्नेछ ।

समूह ‘ए’ मा दोस्रो भएको उरुग्वेल समूह ‘बी’ को तेस्रो भएको कोलम्बियासँग तथा समूह ‘ए’ को तेस्रो भएको पाराग्वेले समूह ‘बी’ को दोस्रो भएको पेरुसँग खेल्नेछ ।

अर्जेन्टिना र इक्वेडर तथा उरुग्वे र कोलम्बियाबीचको खेलको विजेताले सेमिफाइनल खेल्नेछ । यस्तै ब्राजिल र चिली तथा पाराग्वे र पेरुबीचको खेलको विजेताले अर्को सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

फाइनल खेल जुलाई १० मा माराकाना स्टेडियममा हुनेछ ।