फिल्म निर्देशन गर्ने स्वस्तिमाको सपना

असार २१, २०७८


आफ्नो अभिनय क्षमताले फिल्म क्षेत्रमा बेग्लै पहिचान बनाएकी अभिनेत्री स्वस्तिमा खड्का आइतवारबाट २६ वर्षकी भएकी छिन् । २०५२ साल असार २० गते काठमाडौंमा जन्मिएकी उनले यसपटकको जन्मदिन बाल आश्रममा मनाएकी छिन् । काठमाडौंको एक बाल आश्रमलाई खाद्यान्न सामाग्री सहयोग गर्दै उनले त्यस आश्रममा आश्रित बालबालिकासँग जन्मदिनको केक पनि काटिन् ।

स्वस्तिमाले सहायक अभिनेत्रीको रुपमा ‘होस्टेल रिर्टन्स’ बाट अभिनय करिअर सुरु गरेकी थिइन् । त्यसयता उनले ‘लभ लभ लभ, छक्का पन्जा २, जय भोले, नाई नभन्नू ल ५, हजार जुनीसम्म, बुलबुल, घामड शेरे’ लगायतका फिल्ममा अभिनय गरिसकेकी छिन् । यसमध्ये उनको करिअरको उत्कृष्ट फिल्म ‘बुलबुल’ लाई मानिन्छ । यसमा उनले आफूलाई अभिनयमा प्रमाणित गरेकी थिइन् ।

यो फिल्मबाट कयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित अवार्ड जितेकी उनी अहिलेकी सर्वाधिक चल्ती र महंगी अभिनेत्रीमध्ये एक हुन् । डेब्यू फिल्ममा जम्मा १५ हजार पारिश्रमिक पाएकी उनले निषेधाज्ञाभन्दा अगाडि छायांकन सकिएको फिल्म ‘चिसो मान्छे’ मा १८ लाख पारिश्रमिक बुझेकी थिइन् । नेपाली फिल्ममा यति ह्यान्डसम पारिश्रमिक पाउने अभिनेत्री औंलामा गन्न सकिने मात्र छन् ।

उनी २० वर्षको उमेरमा निर्देशक निश्चल बस्नेतसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । उनको करिअरले विवाहपछि नै गति लिएको थियो । नेपाली फिल्ममा आफूलाई सफल अभिनेत्रीको रुपमा उभ्याइसकेकी उनलाई अब फिल्म निर्देशन गर्ने ठूलो सपना छ । यसका लागि पहिला राम्रो देशमा गएर फिल्म मेकिङ पढ्ने उनको योजना छ । यो सँगै उनी व्यवसाय पनि सुरु गर्ने सोचमा छिन् ।