अभिनेत्री जेनी कुँवरले गरिन् आत्महत्या

असार २५, २०७८


नेपाली फिल्मकी अभिनेत्री जेनी कुँवरले देहत्याग गरेकी छन् । बिहीवार साँझ ९ बजे काठमाडौंको थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा उनी झुन्डिएको अवस्थामा भेटिएकी हुन् । उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । जेनी विगत १ बर्षदेखि डिप्रेसनमा रहेको बताइएको छ । घटनास्थलबाट प्रहरीले ‘सुसाइड नोट’ समेत भेटाएको छ ।

उनी सनराइज सिटी अपार्टमेन्टको तेस्रो तल्लामा श्रीमानको साथमा बस्दै आएकी थिइन् । जेनी भान्सा कोठामा नाइनलको डोरीमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनले एक वर्षदेखि डिप्रेसनको औषधी सेवन गरिरहेकी थिइन् । ६ महिना उनी विपश्यना ध्यान शिविरमा समेत बसेकी थिइन् । घटनापछि प्रहरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको थियो ।

जेनीले फिल्म ‘जिन्दगानी’ बाट अभिनय करिअर सुरु गरेकी थिइन् । त्यसयता ‘मैदान, जीननदाता, कानून, अभिमन्यू, मलाई माफ गरिदेऊ, हलचल’ लगायत तीन दर्जनभन्दा बढी फिल्ममा काम गरेकी उनी केही वर्षयता अभिनयमा सक्रिय थिइनन् । पछिल्लो समय उनले अधिकांश समय पशुपति परिसरमा विताउने गरेकी थिइन् । उनको निधनप्रति फिल्मकर्मीले शोक व्यक्त गरेका छन् ।