वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार–२०७७’ बाट सम्मानित

असार २७, २०७८


वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार-२०७७’ बाट सम्मानित भएका छन् । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई सो पुरस्कारले सम्मानित गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री केपी ओलीले उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।

उक्त पुरस्कारसँगै उनलाई नगद १ लाख रुपैयाँ पनि प्रदान गरिएको छ । नेपाली संगीत तथा नाट्य क्षेत्रमा अनवरत रूपमा क्रियाशलि रही अतुलनीय योगदान दिएबापत उनलाई सो पुरस्कार प्रदान गरिएको बताइएको छ । मह जोडीको ‘ह’ अर्थात् वरिष्ठ कलाकार हरिवंश आचार्यले फेसबुकमार्फत श्रेष्ठलाई बधाई दिँदै लेखेका छन्, नेपाल सरकारको तर्फबाट सम्मानिक हुनुभएकोमा मदन दाइलाई हार्दिक बधाई ।

अर्का चर्चित कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले पनि उनलाई फेबुकमार्फत नै बधाइ दिएका छन् । उनले लेखेका छन्, ‘नेपाल सरकारको तर्फबाट नगद एक लाख सहित सम्मानित हुनुभएकोमा आदरणीय मदनकृष्ण श्रेष्ठज्युलाई हार्दिक बधाई छ। नेपाल सरकारलाई हार्दिक धन्यबाद छ । अन्य विभिन्न कलाकारहरूले पनि उनलाई बधाई दिइरहेका छन् ।

पाँच दशकदेखि अभिनय तथा गायन विधामा सक्रिय रहेका कलाकार श्रेष्ठ पछिल्लो समय ‘फुलबुट्टे सारी’ को लेजेन्ड्री भर्जन गाएर निकै चर्चामा आएका थिए । नेपाली हास्य अभिनय जगतका अभिभावक मानिएका मह जोडीको ‘म’ का रूपमा रहेका मदनकृष्ण श्रेष्ठले केही वर्षअघि ‘महको म’ नामक संस्मरणात्मक कृति लेखकका रूपमा पनि आफ्नो परिचय बनाएका थिए ।