हेमराजको नयाँ फिल्ममा अनमोललाई अफर

साउन १४, २०७८


अभिनेता अनमोल केसी र निर्देशक हेमराज विसी एकअर्काका लागि ‘लक्की’ मानिन्छन् । किनकि, यो जोडीले सहकार्य गरेका फिल्म बक्सअफिसमा ब्लकबस्टर छन् । उनीहरुको करिअरको सुरुवात एकसाथै भएको थियो । फिल्म ‘होस्टेल’ बाट हेमराजले निर्देशनमा डेब्यू गरेका थिए भने अनमोलले मुख्य नायकमा । यसपछि उनीहरुबीच ‘जेरी र गाजलु’ फिल्ममा पनि सहकार्य भयो ।

अनमोललाई ‘स्टार’ बनाउन हेमराजको भूमिका महत्त्वपूर्ण मानिन्छ भने हेमराजलाई निर्देशनको रुपमा स्थापित हुन अनमोलको पनि ठूलो हात छ । तर, लामो समयदेखि उनीहरुबीच फिल्ममा टिमअप हुन सकेको छैन । तथापी, हेमराजले नयाँ फिल्म बनाउने तयारी गर्दा सबैभन्दा पहिला अनमोललाई नै नायकको अफर गर्ने गरेका छन् । चाहे त्यो ‘ग्यांगस्टार ब्लूज’ होस् वा ‘द ब्रेकअप’ ।

अनमोलले फिल्म ‘ग्यांगस्टार ब्लूज’ मा काम गर्ने सहमति गरेर अन्तिम समयमा हात झिकेका कारण हेमराज उनीसँग निकै रुष्ट भएका थिए । यसैको प्रतिसोध साध्न उनले अनमोल अभिनीत फिल्म ‘क्याप्टेन’ सँग आफू निर्देशित फिल्म ‘द ब्रेकअप’ एकसाथ रिलिज गरेको बताइन्छ । तर, हेमराजलाई अनमोल विना फिल्म सफल बनाउन फलामको चिउरा चपाउनुभन्दा साह्रो भएको छ ।

‘गाजलु’ पछि हेमराजले अफर गरेका फिल्म नकार्दै आएका अनमोल अब भने उनीसँग टिमअप गर्न सकारात्मक देखिएका छन् । गत वर्ष हेमराजले उनलाई एक नयाँ फिल्म अफर गरेका थिए । केही चरण उनीहरुबीच छलफल पनि भयो । अहिले सम्म कागजी सम्झौता नभए पनि अनमोल फिल्मलाई लिएर सकारात्मक रहेको उनी बताउँछन् । उनीहरु फेरि छलफलमा जुट्ने तयारीमा छन् ।

गत वर्ष हेमराजले बलिउड फिल्म ‘एमएस धोनी’ का निर्माता तथा निर्देशक नीरज पान्डेले निर्माण गर्ने नेपाली फिल्मको निर्देशन गर्न लागेको खबर बाहिरिएको थियो । जसमा नीरज स्वयंको कथा हुनेछ । उनले सरोज न्यौपानेसँग मिलेर फिल्म बनाउन लागेका हुन् । हेमराजले यही फिल्मको अफर अनमोललाई गरेको हुनसक्ने स्रोत बताउँछ । तर, यसबारेमा उनले कुनै जानकारी दिन चाहेनन् ।