वर्तमान सरकारलाई गल्ती गर्ने छुट छैन : नेता थापा

साउन १५, २०७८


सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताएका छन् । 

नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्युज’ नपाउने उल्लेख गर्दै कहिँकतै नचुक्न पनि आग्रह गरे । 

बीपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले केपी ओलीले यो गरेनन् त्यो गरेनन् भन्ने दिन गएको स्मरण गराउँदै उनले कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने बताए । 

नेता थापाले भने, “कुनै पनि एक्सक्यूज यो सरकारले पाउने छैन । एक ठाउँमा पनि सरकार चुक्न पाउने छैन । त्यसैगरी ओली नेतृत्वको सरकारले गएको साढे ३ वर्षमा संविधानको आधार नै भत्काउने काम गरेको छ । संविधान र व्यवस्था माथि नै अनेकन आशंका उब्जाउने जुन काम गरेको छ, त्यसलाई थितिमा ल्याउने काम वर्तमान सरकारले गर्नु पर्दछ ।”

नेता थापाले सरकारलाई सफल बनाउन सिंगो पार्टीले सहयोग गर्नुपर्ने आवश्यकता  पनि औंल्याए ।

फरक प्रसंगमा उनले पार्टीको आसन्न १४ औं महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वलाई आग्रह गरे । “पाटीको महाधिवेशनको तिथिमिति धेरै तलमाथि गर्न पाइँदैन । हाम्रो संविधानले ५ वर्ष पछि पार्टीको महाधिवेशनको मिति ६ महिना थप गर्न मिल्ने व्यवस्था गरेको छ,” नेता थापाले भने, “संविधानको सो व्यवस्था अनुसार अव महाधिवेशनको मिति पछि सार्न मिल्दैन । संविधानले किटान गरेको व्यवस्था कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले उलंघन गर्न मिल्दैन ।”