नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज, कप्तान किरणले कीर्तिमान बनाउँदै

भदौ २०, २०७८


नेपाल र भारतका राष्ट्रिय फुटबल टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ । विहीबारको पहिलो खेलमा १–१ गोलको बराबरी खेलेका यी दुई टोलीबीचको खेल दशरथ रंगशालामा आज साँझ साढे ५ बजेदेखि सुरु हुनेछ ।

सरकारले रंगशालाको पूर्ण क्षमताको एक तिहाई दर्शक राख्न अनुमति दिएसँगै विहीबार पनि ५ हजार दर्शकले प्रवेश पाएका थिए । आजको खेलमा पनि एन्फाले ५ हजार १ सय टिकट विक्री गर्ने बताएको छ । भीआईपी प्यारापिटका लागि २ हजार र साधारण प्यारापिटमा १ हजार टिकटशुल्क तोकिएको छ ।

विहीबार अग्रता जोगाउन नसक्दा नेपालले बराबरीमा रोकिनुपरेको थियो । खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गरेर टिमलाई अग्रता दिलाए पनि दोस्रो हाफको सुरुआतमै अनिरुद्र थापाको गोलमार्फत भारतले बराबरी गरेको थियो ।

आइतबारको खेल नेपाली कप्तान किरण चेम्जोङका लागि ऐतिहासिक हुनेछ । उनले नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेलको कीर्तिमान बनाउनेछन् । यसअघि यो कीर्तिमान पूर्व कप्तान विराज महर्जनको नाममा थियो ।

विहीबारको खेलमा ७३ औं क्याप जितेर किरणले विराजको कीर्तिमान बराबर गरेका थिए । किरणले सन् २००८ मा एएफसी च्यालेन्ज कप अन्तर्गत लाओसविरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।

नेपाल र भारत निकै चिरप्रतिद्धन्द्धीका रुपमा रहेका छन् । नेपालले दक्षिण एशियाली स्तरमा भारतलाई मुख्य प्रतिद्धन्द्धीका रुपमा लिँदै आएको छ । अहिलेसम्म यी दुई टिम २० पटक खेलेका छन् । नेपालले एक खेलमात्र जितेको छ भने ६ खेल बराबरी गरेको छ । बाँकी खेल भारतको पोल्टामा गएको छ ।

यो मैत्रीपूर्ण खेलपछि नेपाली टिम थप तयारीका लागि कतार जानेछ । जहाँ नेपालले दुई साता भन्दा बढीको समय विताएर साफ च्याम्पियनसिपका लागि उतैबाट माल्दिभ्स जानेछ ।

अक्टोबर १ देखि १६ सम्म मालेमा हुने साफ च्याम्पियनसिपमा नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ । नेपाल अहिलेसम्म साफ च्याम्पियनसिपको सेमिफाइनलबाट माथि जान सकेको छैन ।