एमसीसी विरुद्ध विप्लवको आन्दोलन घोषणा: ‘एमसीसी पास गरे विद्रोह हुन्छ’

भदौ २६, २०७८


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलनबारे जानकारी गराएका हुन् । पर्सि सोमबार हुने भेलालाई पार्टीका महासचिव विप्लवले सम्बोधन गर्नेछन् ।

पार्टीको आयोजनामा भदौ २८ गते काठमाडौँमा एमसीसी विरुद्ध प्रदर्शन हुनेछ । प्रवक्ता प्रकाण्डले एमसीसीलाई नेपालबाट सधैँलाई अन्त्य गर्ने गरी आन्दोलनको घोषणा गरिएको बताए ।

उनले भने, ‘एमसीसीलाई नेपालबाट सधैँभर नेपालबाट हटाउनुपर्छ । यो सरकारले राष्ट्रघाती परियोजना एमसीसी पास गर्ने मुर्खता नगरोस् ।’ एमसीसीलाई संसदबाट पास गरिए दोस्रो चरणको आन्दोलनको घोषणा गरिने उनले बताए । उनले भने, ‘नेपाली जनताका लागि अपराध गर्नुहुन्छ भने राष्ट्रको मुक्ति प्राप्त नगर्दासम्म हामी निरन्तर आन्दोलनमा हुन्छौँ ।’

वर्तमान सरकारको विकास भन्दा पनि भ्रष्टाचारमा ध्यान गएको उनको आरोप थियो । उनले भने, ‘जनताको बलिदानलाई मुल्यहीन बनाउन कसैलाई छुट छैन । देउवाले मूर्खता गरे भने देश आन्दोलनको भूमरीमा फस्छ ।’ श्रमजीवी जनताको विपक्षमा र स्वाधीनता प्राप्त गर्न नदिन एमसीसी परीयोजना आएको उनको दावी थियो । उनले भने, ‘तपाइँहरु (सरकार)ले युद्ध, लुट थोपर्न पाउनुहुन्न । अहिलेको दुनियाँमा श्रमजीवी जनताले आफ्नो बारेमा निर्णय गर्ने अधिकार आफैँलाई छ ।’ उनले एमसीसी नेपालबाट खारेज गर्नुपर्ने भन्दै सरकारले नसुने विद्रोह गर्ने चेतावनी दिएका छन् ।

एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपाल आएर प्रधानमन्त्री सहित विभिन्न राजनीतिक दलका प्रमुखहरुसँग भेट गरिरहँदा विप्लव नेतृत्वको नेकपाले आन्दोलनको घोषणा गरेको हो । शुक्रबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा उपाध्यक्ष फातिमा सुमारले एमसीसी संसदबाट छिट्टै अनुमोदन हुनेमा विश्वस्त रहेको बताएकी थिइन् ।