दशैंबाट जसरी पनि हल खोल्छौं : अशोक शर्मा

असोज ०६, २०७८


कोरोनाको दोस्रो लहर सुरु भएपछि गत बैशााखमा देशभरका जिल्ला प्रशाासन कार्यालयहरुले सिनेमा हललाई अनिश्चितकालका लागि सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । जसअनुरुप करीब चार महिना हल बन्दै रहे । गत महिना काठमाडौंसहित देशका विभिन्न जिल्लाका प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सिनेमा घर खोल्न अनुमति दिएको छ ।

तर, प्रशासन कार्यालयले अनुमति दिएता पनि प्रदर्शनका लागि नयाँ फिल्म नहुँदा सिनेमा हल खुल्न सकेका छैनन् । निर्माताहरु लगानी सुरक्षित हुने गरी वितरक र हल व्यवसायीबाट ‘एमजी’ पाए मात्र फिल्म रिलिज गर्न तयार देखिएका छन् । यही विषयमा चलचित्र विकास बोर्ड, चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ लगायतका संघ-संस्थाहरु दिनहुँ जसो छलफलमा जुटेका छन् ।

हल व्यवसायी तथा फिल्म निर्माता अशोक शर्माले दशैंबाट जसरी पनि सिनेमा हल खोल्ने बताए । हल नखोलेसम्म फिल्म इन्डस्ट्री चलायमान हुँदैन । निर्मातालाई के सुविधा दिन सकिन्छ त्यसमा हामी लचक छौं । निर्मातालाई प्रतिशत बढी दिएर हुन्छ वा विकास बोर्डले आर्थिक सहयोग गरेर हुन्छ हामी सबै पक्षसँग छलफल गरेर चाँँडै टुंगोमा पुग्नेछौं, आइतवार एक कार्यक्रममा उनले भने ।

निर्मातालाई कसरी सुरक्षित गर्ने भन्नेमा विषयमा छलफल भइरहेको बताउँदै उनले अगाडि भने, ‘निर्माताको एकचोटी गयो भने त गइगयो । प्रदर्शनहरु त एउटा फिल्मबाट भएन भने अर्को फिल्मबाट उठ्न सक्छन् । यसकारण निर्मातालाई कसरी सुरक्षित गर्ने भनेर हामी गम्भीर रुपमा लागिरहेका छौं । खुल्न बाँकी रहेका केही जिल्लाका हल खुलाउन पनि पहल भइरहेको उनले बताए ।