वैशाखसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने : राज्यमन्त्री श्रेष्ठ

असोज १३, २०७८


असोज १३, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरूद्धको खोप लगाईसक्ने बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सरकारले दशैंअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने गरी काम गरिरहेको जानकारी दिए ।

विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले हाल दैनिक ३ लाख जनतालाई सो खोप लगाउने काम गरिरहेको बताए । वर्तमान सरकारले आफ्नो करिब ३ महिने कार्यकालमा १ करोड थप खोप लगाउने काम गरेको उनको भनाई छ । राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि पनि १ करोड खोप सुनिश्चित गरिएको बताए । करिब ३ महिनाको अवधिमा १ करोड थप खोप लगाईसकिएको जानकारी गराउन चाहन्छु ।

हामीले १ करोड ७७ लाख खोप ल्याईसकेका छौं, यो दशैं सम्म ३३ प्रतिशत जनतालाई खोप लगाईसक्ने जानकारी पनि गराउन चाहन्छु उनले भने, हाल आएर एक दिनमा ३ लाख जनतालाई खोप लगाएका छौं । फ्रन्ट लाईनरहरुलाई खोपमा उच्च प्राथमिकता दिइएको छ । १४ वटा हिमाली जिल्लाहरुमा १८ वर्ष भन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियानलाई सुरू गरिएको छ । बालबालिकाहरुका लागि पनि १ करोड खोपको सुनिश्चित गरिएको छ ।