बाढीपहिरोपीडितका लागि सरकारले राहत प्याकेज ल्याउँछ : प्रधानमन्त्री देउवा

कार्तिक ०५, २०७८


कात्तिक ५, प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरोपीडितका लागि सरकारले राहत प्याकेज ल्याउने बताएका छन् । शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रममा उनले बेमौसमी बाढीबाट मुलुकभर भएको क्षतिको विवरण सङ्कलन गरेर पीडितलाई राहत र पुनर्निर्माणमा जुट्ने बताएका हुन् ।

‘सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बाढीपहिराले ठूलो क्षति पुर्‍याएको छ, प्रधानमन्त्री देउवाले भने, सिमित स्रोतसाधनका बाबजुत पनि पीडितलाई राहत दिन्छौं । मन्त्रिपरिषद्को निर्णयबाट केही दिनअघि राहत व्यवस्था गरिएको उल्लेख गर्दै उनले बाढीका कारण पूर्वाञ्चललगायत देशभरका विभिन्न स्थानमा क्षति पुगेको बताए । प्रधानमन्त्री देउवाले कञ्चनपुरको महाकाली तटीय क्षेत्र र दोधारा–चाँदनीमा विगतमा पनि नदी कटानको समस्या रहेको चर्चागर्दै कैलाली कञ्चनपुरमा धानबालीमा ठूलो क्षति पुगेको बताए ।

निरीक्षणपछि प्रधानमन्त्री देउवालाई जिल्ला सुरक्षा समितिले बाढीको क्षति र वस्तुस्थितिबारे जानकारीसमेत गरायो । सुदूरपश्चिमको बाढीपहिराको क्षति र पीडितको अवस्था बुझ्न बिहीबार आएका प्रधानमन्त्री देउवाले डोटी, बझाङ, बैतडी र डडेल्धुरामा निरीक्षण गरे । उनले आज कैलालीमा पनि बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम छ ।