राष्ट्रियसभाका २० सदस्यको पद रिक्त हुँदै, माघ पहिलो साता चुनाव गर्न आयोगको सिफारिस

कार्तिक ०८, २०७८


कात्तिक ८, निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त २० पदमा आगामी माघ पहिलो साता निर्वाचन गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमबार भएको भेटमा आयोगले फागुन पहिलो साता रिक्त २० सदस्यको निर्वाचन गर्न सरकारसमक्ष सिफारिस गरेको हो । २० सदस्यको पदावदी आगामी फागुनमा सकिँदैछ । संविधानको धारा ८६९३० र राष्ट्रियसभा नियमावली, २०७५ को नियम २०८ को व्यवस्थाअनुसार फागुनदेखि २० राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएपछि आयोगले नयाँ चुनाव सिफारिस गरेको हो ।

आयोगका अनुसार चन्द्रबहादुर खड्काको स्थानमा गत जेठ १७ गते भएको उपनिर्वाचनबाट दृग नारायण पाण्डेय निर्वाचित भएकोमा उनको कार्यकाल पनि फागुन २० सम्म मात्रै कायम हुनेछ । यस्तै प्रदेशका १८ र प्रतिनिधिसभाका ४ सांसदको पनि पद रिक्त, रहेकाले ती पदमा उपनिर्वाचन गर्नेबारे पनि छलफल भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

आयोगका अनुसार एमालेका ८, माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४, काँग्रेसका ३ र मनोनित एक सदस्यको पदावधि फागुन २० मा सकिँदैछ । राष्ट्रियसभाको कार्यकाल सकिनु ३५ दिनअघि चुनाव गर्नुपर्ने व्यवस्था भएकाले आयोगले माघ पहिलो साताका लागि चुनावको मिति प्रस्ताव गरेको हो ।