प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिने अष्टलक्ष्मी शाक्यको तयारी
कार्तिक १०, वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छिन् । केहीबेरमा सुरू हुने प्रदेशसभा बैठकमा सम्बोधन गरेर त्यहीँ राजीनामाको घोषणा गर्ने आर्थिक योजना मन्त्री रचना खड्काले नेपाल प्रेसलाई जानकारी दिइन् । आजको बैठकमा मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो ।
प्रदेशसभाबाट विश्वासको मत नपाउने लगभग पक्का भएपछि शाक्यले राजीनामाको बाटो रोजेकी हुन् । उनी भदौ २ मा मुख्यमन्त्री नियुक्त भएकी थिइन् । एमाले विभाजित हुँदै गर्दा शाक्यले माधव नेपाललाई साथ नदिएर वागमती प्रदेशकी मुख्यमन्त्री बनेकी थिइन् । प्रदेशसभामा एमालेका ४३ सांसद छन् । विश्वासको मतका लागि भने ५५ सांसद चाहिन्छ ।
शाक्यलाई हटाउन विपक्षी गठबन्धन एक भएपछि उनले विश्वासको मत पाउने अवस्था कठिन बनेको थियो । विपक्षी गठबन्धनमा माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ सांसद छन् । विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा एकीकृत समाजवादीका संसदीय दल नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ । त्यस्तै विवेकशील साझाका ३, नेपाल किसान मजदुर पार्टी नेमकिपा र राप्रपाका २ जना छन् ।






