बेलायत नेपालको सबैभन्दा पुरानो मित्र हो : प्रधानमन्त्री देउवा
कात्तिक १४, प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्बन्ध मित्रता, सद्भाव र पारस्परिक विश्वासको आधारमा कायम रहँदै आएको धारणा व्यक्त गरेका छन् । नेपालका लागि सर्वदलीय संसदीय समूह एपिपिजी एन र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले शनिबार साँझ आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उनले ब्रिटिश गोर्खाहरूको लामो समयदेखिकोे योगदानले सम्बन्धको अर्को महत्वपूर्ण कडीको रूपमा काम गरेको उल्लेख गरे ।
सम्बन्धलाई थप सुमधुर बनाउन दुवै देशका संसदहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले सर्वदलीय समूहले निर्वाह गरेकोे भूमिकाप्रति आभार व्यक्त गरे । प्रधानमन्त्री देउवाले दुई देशका संसद्बीचको विद्यमान सम्बन्धलाई अझ प्रगाढ बनाउन संसदीय प्रतिनिधिमण्डलको भ्रमणलाई निरन्तर र नियमित गर्न आग्रहसमेत गरे । उनले भने, ‘संसदीय लोकतन्त्रमा साझा विश्वास नेपाल र बेलायतबीचको घनिष्ठ सम्बन्धको आधारभूत पक्ष हो, नेपालप्रति समर्पित संसदीय निकायका रूपमा, समूहले यी सम्बन्धलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
बेलायती संसद्लाई बेलायती लोकतन्त्रको संस्थाको रूपमा मात्र नभइ बहुदलीय प्रजातन्त्र र मौलिक स्वतन्त्रताको प्रतीकको रूपमा पनि प्रशंसा गरिन्छ । नेपालको प्रजातन्त्रले आफ्नो लोकतान्त्रिक संस्थाको जग बलियो बनाउन इमान्दार प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्र र स्वतन्त्रताका लागि लामो सङ्घर्ष गर्नुपरेको बताए । प्रजातन्त्र र स्वतन्त्रताका लागि आफूले दशकौं देखि कडा सङ्घर्ष गरेकाले प्रजातन्त्र र स्वतन्त्रता आफूलाई प्यारो भएको उनको भनाइ थियो । रासस






