बलिउड चलचित्र ‘उचाइ’ को नेपालको छायांकन सकियो

कार्तिक १४, २०७८


बलिउड चलचित्र ‘उचाई’को नेपालको छायांकन सकिएको छ । नेपालमा २५ दिनको छायांकन सकेर ‘उचाई’ले नेपालको छायांकन तालिका सकाएको छ । दुई दिन काठमाडौं र बाँकी समय हिमाली जिल्लामा छायांकन भएको फिल्मले २८ अक्टोबरमा नेपाल सेड्युल पूरा गरेको हो । खोटाङको नाम्चेदेखि मनाङका विभिन्न ठाउँमा छायांकन गरिएको चलचित्रको शुक्रबार पहिलो तालिका अन्तर्गतको छायांकन सकिएको छ भने दोस्रो भारतका विभिन्न स्थानमा हुने राजश्री प्रोडक्सनले जनाएको छ । उक्त प्रोडक्सनले निर्माण गरेको चलचित्रको छायाङ्कन नेपालमा ४ अक्टोबरबाट सुरु भएको थियो ।

काठमाडौंमा ह्यात होटल र एयरपोर्टमा केही दृश्य खिचेर टोली नाम्चे लागेको थियो । सुरज वाडजात्याद्वारा निर्देशित चलचित्रमा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडालगायत कलाकारले नेपाल आएर छायांकन गरिएको थियो । चलचित्रमा अमिताभ बच्चन भए तापनि स्वास्थ्यका कारण उनी नेपाल आउन नसकेपछि उनको बडी डबललाई राखेर छायांकन गरिएको थियो । चलचित्रका निर्माण टोलीका केही सदस्य अहिले पनि मनाङमै छन् भने केही काठमाडौं फर्किसकेका छन् । चलचित्रको मुख्य टोली शनिबार एयर इण्डियाको विमानमार्फत भारत फर्किएको छ ।