चिनियाँ सेनाले नेपाली सेनालाई पठायो ३ लाख डोज खोप
कार्तिक २२, २०७८
कात्तिक २२, चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई तीन लाख डोज भेरोसेल खोप पठाएको छ । साथमा, १० थान भेन्टिलेटर र एक सय थान अक्सिजन कन्सन्ट्रेटर पनि चिनियाँ सेनाले पठाएको छ । सोमबार जंगीअड्डामा आयोजित समारोहमा चिनियाँ राजदूत होऊ याङ्कीले उक्त स्वास्थ्य सामग्री प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरिन् ।
महामारी जारी रहँदा चिनियाँ सेनाबाट प्राप्त उक्त सहयोगका लागि प्रधानसेनापति शर्माले धन्यवाद ज्ञापन गरे । उक्त स्वास्थ्य सामग्रीबाट नेपाली सेनाका सबै दर्जा र हिताधिकारीहरू लाभान्वित हुने प्रधानसेनापति शर्माले बताए । यसबाट महामारीविरुद्धको लडाइँमा नेपाली सेना थप प्रभावकारी रूपमा जनताको सेवामा लाग्न सक्षम हुनेछ र दुई देशका सेनाबीचको सम्बन्ध थप मजबुत हुने विश्वास छ, शर्माले भने ।






