सकेसम्म सहमतिमै नेतृत्व चयन गरौं : बादल

मङि्सर ०९, २०७८


एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले पार्टीको १०औं महाधिवेशनले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने बताएका छन्। 

महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका बादलले आज पत्रकारहरुसँगको कुराकानीमा सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट अघि बढ्ने बताएका हुन्। उनले भने, ‘१०औं महाधिवेशनले सहमतिमानै नेतृत्व चयन गर्छ। यो सम्भव छ।’ 

नेता थापाले स्थानीय तहमा सहमतिमानै नेतृत्व चयन भएको भन्दै केन्द्रमा पनि यसको प्रभावपर्ने बताए। आफू कुन पदमा उम्मेद्वारी दिने भन्ने विषयमा टुङ्गो नलागेको भन्दै उनले छलफलबाट पदको टुंगो लाग्ने जानकारी दिए। उनले भने, ‘मेरो उम्मेदवारी के मा भन्ने टुंगो लागेको छैन। छलफलबाट निस्कर्ष निकाल्छौं।’

एमाले नेता शेरबहादुर तामाङ्ले महाधिवेशनले सर्वसहमत नेतृत्व छनोट गर्ने बताएका छन्। उनले अन्तिम समयसम्म सहमतिको प्रयास हुने र सहमतिमा  नै नेतृत्व चयन हुने बताए। उनले भने, ‘साथीहरुले आन्तरिक तयारी सुरु गर्नुभएको छ। आकांक्षा राख्न पाइन्छ।’ 

फरक प्रसंगमा बोल्दै उनले आफू सचिवको उम्मेद्वार रहेको बताए। उनले भने, ‘म काममा विश्वास राख्छु। कायर्कर्ताले दिएको जिम्मेवारीमा बस्छु। तर, अपग्रेड हुने चाहना छ।’

नेकपा एमालेका युवा नेता महेश बस्नेतले १०औं महाधिवेशनले सबैलाई एक ठाउँमा बनाएर लैजाने बताए। पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै उहाँले माओवदीबाट आएका र १० बुँदे सहमतिबाट आएका नेताहरुलाई व्यवस्थापन गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। उनले भने, ‘अन्यमा समस्या छैन । १० बुँदे सहमतिपछि आएका नेतामा केही समस्या देखिएको हो। उहाँहरुलाई जिम्मेवारी दिएर व्यवस्थापन गर्न सकिन्छ।’ 

महाधिवेशनले केपी ओलीकै नेतृत्वमा एमालेलाई अघि बढाउने भन्दै उनले अन्य विषयमा छलफलबाट समाधान हुने विश्वास व्यक्त गरे। उनले भने, ‘अहिलेको महाधिवेशनले नयाँ र युवा पुस्ताको पनि व्यवस्थापन गर्न जरुरी छ।’ आफू सचिव पदको उम्मेदवार रहेको भन्दै उनले जिम्मेवारी दिँदा पुराना र नयाँलाई मिलाइर अघि बढ्नुपर्ने बताए। उनले भने, ‘एमालेको पदाधिकारीको प्रवेश विन्दु नै सचिव हो । यसमा नयाँ र युवा पुस्ताको पनि सहभागिता आवश्यक छ।’