कांग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी घोषणा

मङि्सर ०९, २०७८


नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा उनले भने, ‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु । परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरुलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेको समेत स्पष्ट गर्न चाहन्छु ।’

नेता निधिले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउने र कांग्रेसमा पुस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने बाचा निधिले गरेका छन् । पुस्तान्तरणलाई सहज बनाउन पार्टीका कुनै पनि एउटै तहमा वा पदमा दुई पटक भन्दा बढी निर्वाचित वा मनोनित नहुने व्यवस्था गर्न पार्टीको विधान संशोधन गर्ने निधिले बताएका छन् ।

साथै संविधान संशोधनको विषय पार्टीको आधिकारिक निर्णय अनुसार कार्यान्वयन गराउने र गणतन्त्रलाई संस्थागत गर्ने बाचासमेत उनले गरेका छन् । आफ्ना बाचाहरुलाई पाँच वर्षभित्र पूरा गर्ने घोषणासमेत निधिले गरे ।