राखेप सदस्य सचिवमा डा. लामिछानेको आवेदन

मङि्सर ०९, २०७८


काठमाडौं,
मंसिर ९ ।

युवा तथा खेलकुद मन्त्रालयले मंसिर ४ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव दरखास्त आह्वान गरेको थियो, त्यसका लागि खेल क्षेत्रमा लागेका विभिन्न व्यक्तिहरूले दरखास्त दिन लागेका छन् । यसैक्रममा पहिलो आवेदन डा. अचुतम लामिछानेले दिनुभएको छ ।

खेल क्षेत्रमा विज्ञता हासिल गर्नुभएका लामिछाने खेल विज्ञानमा पीएचडी गर्ने पहिलो नेपाली पनि हुनुहुन्छ । उहाँले दक्षिण कोरियाको योङ इन विश्वविद्यालयबाट पीएचडी गर्नुभएको हो । डा. लामिछानेले महेन्द्ररत्न क्याम्पसबाट प्रमाणपत्रतह स्वास्थ्य तथा शारीरिक शिक्षामा र स्नातक, स्नातकोत्तर र विद्यावारिधि सम्पूर्ण उच्च शिक्षा दक्षिण कोरिया बाटै गर्नुभएको हो ।

उहाँले नेपाल खेल विज्ञान एकेडेमी (सान)मा खेल विज्ञको रुपमा पाँच वर्ष काम गरिसक्नु भएको छ भने १३ औं दक्षिण एसियाली खेलकुदमा राष्ट्रिय टिमको तयारी कमिटीका सदस्यसमेत हुनुहुन्थ्यो । उहाँले बागमती प्रदेशको खेलकुद नीति निर्माण पनि गर्नुभएको थियो । खेलाडीका रुपमा तेक्वान्दो चौथो डान, अन्तर्राष्ट्रिय प्रशिक्षक तथा राष्ट्रिय रेफ्री र योङमुदो चौथो डानसमेत उहाँले हासिल गर्नुभएको थियो ।

उहाँ युनेस्को इन्टरनेशनल सेन्टर अफ मार्सल आर्टस्को खेल विज्ञको तालिम तथा उपाधिसमेत लिनुभएको छ भने विश्व मार्सल आर्ट मास्टरसिप कमिटीको भोलिन्टियर सदस्य समेत हुनुहुन्छ ।

‘म खेल क्षेत्रमा लागेर यसैमा विद्यावारिधी गरेको छु, राज्यले मैले सिकेको ज्ञानको सदुपयोग गरोस् भन्ने मेरो चाहना हो,’ डा. लामिछानेले भन्नुभयो, ‘खेल क्षेत्रमा केही फड्को मारेर माथि उठाउन सक्छु भन्ने म विश्वास दिलाउन चाहान्छु ।’