सम्राटको ‘लाखे’ मा सौगातदेखि अर्पणसम्म

मङि्सर १६, २०७८


पासवर्ड निर्देशक सम्राट बस्नेत यतिबेला नयाँ फिल्म ‘लाखे’ को तयारीमा छन् । यो फिल्मलाई उनले मल्टीस्टारर बनाउने भएका छन् । फिल्मका लागि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकार फाइनल भइसकेको उनले जानकारी दिए । बाँकी कलाकार भने अडिसन मार्फत छानिने उनको भनाई छ ।

‘प्रतिभा भएर पनि अभिनय अवसर नपाएका र कला क्षेत्रमा करिअर बनाउन चाहनेलाई अवसर दिन अडिसन गर्न लागिएको हो,’ सम्राटले भने ‘अडिसनले फिल्म क्षेत्रमा नयाँ तथा प्रतिभावान ब्यक्ति पाउँछ भन्ने विश्वास छ । फिल्मलाई उत्कृष्ट बनाउन पनि हामी कुनै कसर छाड्ने छैनौं ।’ यस फिल्ममा करीब आधा दर्जन चरित्रका लागि अडिसनमार्फत् कलाकार छनोट गरिने उनले बताए ।

निर्देशक बस्नेतका अनुसार, फिल्मका लागि १८ देखि २४ बर्षसम्मको एक मुख्य अभिनेत्री, ८ देखि १० वर्षको एक बालकलाकार, १७ देखि २४ वर्षसम्मको एक महिला कलाकार र २६ देखि ५० वर्षसम्मको १० पुरुष सहायक कलाकार छानिनेछ । कलाकार छनोट गर्न मंसिर १८ गते कान्तिपुर फिल्म एकेडेमीमा अडिसन राखिएको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिए ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सन प्रालिको ब्यानरमा बन्ने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता छन् । ठुलो बजेटमा निर्माण हुने फिल्मको नाम ‘लाखे’ भए पनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परालाई पुरै नसमेटिएको निर्देशक बस्नेतले बताए ।