माओवादी केन्द्रको विधान परिमार्जनका लागि ५ सदस्यीय कार्यदल गठन

मङि्सर १७, २०७८


मंसिर १७, नेकपा माओवादी केन्द्रले विधान परिमार्जनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ । पेरिसडाँडामा शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले नेता देव गुरुङको संयोजकत्वमा विधान परिमार्जन कार्यदल गठन गरेको हो । कार्यदलमा पम्फा भुसाल, लिलामणी पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव सदस्य रहेका छन् ।

त्यस्तै राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार प्रसार उपसमिति पनि गठन गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । बैठकले प्रत्येक प्रदेशबाट राष्ट्रिय सम्मेलनमा ३० जना प्रतिनिधि सहभागी हुनेगरी कार्यविधी बनाएको छ ।

केन्द्रीय प्रतिनिधिको संख्या थप्न अध्यक्ष प्रचण्डलाई प्रस्ताव तयार पार्ने जिम्मेवारी समेत बैठकले दिएको छ । प्रवक्ता महाराले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यहरुको प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको पनि जानकारी दिए । त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको पनि बताए ।