चितवनका सबै स्थानीय तहमा सत्ता गठबन्धन दलबीच तालमेल गर्ने सहमति
चैत २१, चितवनका सबै स्थानीय तहमा सत्ता गठबन्धनका पाँच दलबीच चुनावी तालमेल हुने भएको छ । गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चार राजमो बीच आज सोमबार बिहान बसेको बैठकले स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने सहमति भएको हो ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, एकीकृत समाजवादीका इन्चार्ज कृष्ण प्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राजमो अध्यक्ष डम्बर पुरीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । बैठकपछि पाँच नेताको हस्ताक्षर रहेको चारबुँदे प्रेस विज्ञप्ति जारी गरिएको छ । सो विज्ञप्तिमा उल्लेख भएअनुसार चितवनका सातवटै पालिकाहरुमा तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र निर्माण गरिने छ ।
संयुक्त संयन्त्रको संयोजन नेपाली कांग्रेसको पालिका सभापतिले गर्नेछन् । गठबन्धनमा सहभागी दलहरुबीच गठबन्धनको मर्म र भावनाअनुरुप आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने विज्ञप्तिमा उल्लेख छ । दलगत वस्तुस्थितिबारे प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १/१ प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।






