‘केजीएफ’ स्टार यश भन्छन्- भूगोलका आधारमा फिल्मलाई विभाजन गर्ने समय सकियो

चैत २१, २०७८


काठमाडौं २१ चैत।

दक्षिण भारतीय फिल्म ‘केजीएफः च्याप्टर २’ आगामी वैशाख १ गते रिलिज हुँदैछ । विश्वभर नै प्रतीक्षित मानिएको फिल्म रिलिज नहुँदै नेपालमा समेत यसलाई लिएर चर्चा सुरु भएको छ ।

कतिपयले केजीएफ, आरआरआर र पुष्पाजस्ता फिल्मको दबदबा नेपाल र हिन्दीभाषी फिल्म चल्ने भारतीय राज्यमा सुरु भएको भन्दै चासो र चिन्ता समेत लिन थालेका छन् । भारतीय हिन्दी भाषाको फिल्म उद्योग बलिउड अभिनेता सलमान खानले आफ्ना फिल्म साउथ इण्डियामा चल्न छाडेको भन्दै चिन्ता जनाएका थिए भने नेपाली फिल्म वृत्तमा यसबारे चिन्ता सुरु भएको छ ।

यस्तोमा केजीएफ स्टार तथा दक्षिण भारतीय अभिनेता यशले भूगोलको आधारमा फिल्मलाई विभाजन गर्ने समय समाप्त भइसकेको भन्दै जहाँको भएपनि राम्रा फिल्मलाई दर्शकले मन पराउने बताएका छन् ।

मुम्बईमा शनिबार आयोजित पत्रकार सम्मेलनमा यशले भूगोलको आधारमा फिल्मलाई विभाजन गर्ने समय अब सकिएको बताए ।

‘अब बलिउड र साउथ फिल्मको रेखा मेटिएको छ । दर्शकले सबै फिल्म हेर्छन्, चाहे त्यो दक्षिण, पूर्व र उत्तरकै किन नहोस् । दर्शकले राम्रा फिल्म हेर्छन्, राम्रा फिल्मलाई दर्शकले सेलिब्रेट गर्छन्,’ उनले भने ।

यशले अगाडि भने, ‘मलाई मेरी पत्नीले सोध्ने गर्छिन्, मुम्बई र उत्तर भारतमा जाँदा तपाईंलाई घरजस्तो महसुस हुन्छ त भनेर रु मलाई त्यस्तो केही लाग्दैन । दर्शकले फिल्म हेर्छन् र कमेन्ट गर्छन् । नर्थका कलाकार हामीकहाँ आउँछन्, हामीकहाँका दर्शकले उनीहरुलाई सेलिब्रेसन गर्छन् । हामी एउटै उद्योगमा छौं, त्यो नै महत्वपूर्ण पाटो हो ।’

केजीएफको पहिलो भागमा समेत हिन्दी भाषाका कलाकारलाई अप्रोच गरिएको भन्दै यशले सञ्जयदत्त र रविना टण्डनलाई समेत दर्शकले फिल्ममा रुचाउने बताए ।

नेपालमा केजीएफ रिलिज हुने बताइएपनि आइतबारसम्म कुन वितरकले कति मूल्यमा फिल्म ल्याउने हो, त्यसको टुंगो लागिसकेको छैन । हिन्दी भाषाको वितरक कम्पनीले नेपाललाई चर्को मूल्यमा फिल्मको नेपाल अधिकार प्रस्ताव गरेको जनाइएको छ ।