‘हनी बनी’का लागि लण्डन उडे सलोन, जसिताको जोडीमा भारतीय अभिनेता तय

बैशाख २७, २०७९


काठमाडौं २७ बैशाख।

दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘हनी बनी’ छायांकनका लागि अभिनेता सलोन बस्नेत बेलायतको लण्डन प्रस्थान गरेका छन् । यसैसाता उनी यो फिल्ममा अनुबन्धित भएका थिए ।

नायिकामा जसिता गुरुङ तय भए पनि नायक चाहिं टुंगो लागिसकेको छैन । फिल्ममा सलोन पनि मुख्य भूमिकामा हुने लण्डनमा रहेका निर्देशक भट्टराईले जानकारी दिए ।

लण्डन उड्नुअघि अनलाइनखबरसँग कुरा गर्दै सलोनले ‘हनी बनी’को छायांकनलाई लिएर उत्साहित भएको बताए । अभिनेत्री गुरुङ पनि अहिले लण्डनमै छिन् । सबै छायांकन बेलायतका विभिन्न सहरमा हुने योजना छ ।

यसैबीच मुख्य नायकमा भारतमा रहेर म्युजिक भिडियोमा अभिनय गरेका एक मोडल फाइनल भएको जनाइएको छ । छायांकनकै लागि उनको पनि बेलायती प्रवेशाज्ञा लिने प्रक्रिया सुरु रहेको भनिएको छ । यदि प्रवेशाज्ञा नआएमा अर्को कलाकार लिनुपर्ने हुँदा उनकोबारे केही खुलाइएको छैन ।

अन्तिम समयमा अनमोल केसी र सारा श्रीपाइली फिल्मबाट हटेपछि ‘हनी बनी’ पूर्वनिर्धारित योजनाअनुसार छायांकनमा जान सकेको छैन । नायिका फाइनल नै नभई छायांकनमा जान हतार गरिएको भन्दै अनमोललले फिल्म छाडेको जनाएका थिए । साराको भने बेलायको प्रवेशाज्ञा आउन सकेन ।