नयाँ फिल्मको तयारीमा वली

बैशाख २७, २०७९


निर्देशक दीपक वली नयाँ फिल्मको तयारीमा जुटेका छन् । ‘रोल्पा रोग’, ‘कुम्भ करण’, ‘पण्डित बाजेको लौरी’ जस्ता फिल्म निर्देशन गरेका वलीको पछिल्लो फिल्म ‘कृष्ण लीला’ आगामी ३ भदौमा रिलिज हुँदैछ ।
सामाजिक विषयवस्तुमा फिल्म बनाउँदै आएका वलीका धेरै फिल्म बक्स अफिसमा असफल छन् । तर उनको निर्देशन पाटोको भने प्रशंसा हुँदै आएको छ । सायद त्यसैले होला उनी एकपछि अर्काे फिल्म लगातार पाइरहेका छन् ।
अहिले पनि उनले एक फिल्म साइन गरेका छन् । जसको जानकारी उनी आफैले सामाजिक संजाल मार्फत दिएका छन् । उनले लेखेका छन्, ‘नयाँ फिल्मको तयारी, पुरै जानकारी केही समयपछि ।’ फिल्मको स्क्रिप्ट यम थापाले लेखिरहेको समेत उनले बताएका छन् ।
नाम समेत गोप्य राखिएको फिल्म ‘कृष्ण लीला’ रिलिजपछि छायांकन सुरु गर्ने तयारी उनको रहेको छ । फिल्मको डोल्पा र काठमाडौंमा छायांकन हुने निर्देशक वलीले बताए । 
फिल्मको अहिले कलाकार छनौट भइरहेको छ । फिल्ममा रहने कलाकार प्राबिधिक पक्ष केही समयपछि सार्वजनिक गर्ने वलीले बताए ।