पूजा र आकाशको ‘सम्झना विर्सना’ जेठ ६ मा रिलिज नहुने

बैशाख २७, २०७९


आगामी जेठ ६ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘सम्झना विर्सना’ निर्धारित मितिमा रिलिज नहुने भएको छ । देश स्थानीय निकायको निर्वाचनमा होमिएको अवस्थालाई मध्यनजर गर्दै तत्काललाई अर्को मिति घोषणा नगर्दासम्म फिल्म प्रदर्शन स्थगन गरिएको निर्माता आदित्य प्रधानले जानकारी दिएका छन् ।

फिल्म अब कुन मितिमा प्रदर्शनमा ल्याउने छिट्टै जानकारी गराउने निर्माण टिमले बताएको छ । यो फिल्मलाई निमेष प्रधानले निर्देशन गरेका हुन् । निर्माणमा आदित्य प्रधानसँगै रेविका प्रधान छन् ।

यो फिल्ममा पूजा र आकाशसँगै सुनील थापा,छुल्ठिम गुरुङ,शिसिर राणालगायतका कलाकारले अभिनय गरेका छन् । दार्जिलिङ,सिल्गुडी तथा सिक्कीमका बिभिन्न रमणीय स्थानमा खिचिएको फिल्मको कथा र पटकथा निर्देशक निमेषकै हो भने सम्वाद लेखनमा उनलाई शिशिर राणाले सघाएका छन् ।

आदित्य फिल्म्स् को प्रस्तुति रहेको ‘सम्झना विर्सना’ शिव ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । यो फिल्मलाई आरआर फिल्मस् ले प्रदर्शनको अधिकार लिएको छ ।