झोले कार्यकर्ता भएर राजनीतिमा प्रवेश गर्दिनँ : दीपकराज गिरी

बैशाख ३१, २०७९


अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले चन्द्रगिरी नगरपालिका–१ दहचोकबाट मतदान गरेका छन् । उनले ५ बज्न पाँच मिनेट बाँकी छँदा उक्त मतदान केन्द्रबाट अन्तिम समयमा मत खसालेका हुन् । आफुले विगतदेखि नै अन्तिम समयमा मात्र भोट हाल्दै आएको बताउँदै उनले थपे, ‘सबै दाजुभाईलाई पालो दिएर मात्र भोट हाल्ने गरेको छु ।’

कलाकारहरुले चाडै भोट हाल्छन् र लाखापाखा लाग्छ भन्ने नहोस् भन्नका खातिर पनि आफु अन्तिम समयमा भोट हाल्न आएको उनले बताए । उनी भन्दै थिए, ‘यतातिर साथीभाईहरु भन्ने गर्छन्, दीपकराज दाईले भोट हालेपछि मतदान प्रक्रिया पुरा हुन्छ ।’

यसै सिलसिलामा अभिनेता गिरी राजनीति र सिनेमाका विषयमा अनलाइनखबरसँग केहीबेर गफिए ।

यसपाली कलाकर्मीहरु धमाधम राजनीतिमा प्रवेश गर्दै गर्दा उनी मौन रहे । किन रु उनको जवाफ यस्तो थियो, ‘म झोला बोकेर होइन विचार बोकेर राजनीतिमा प्रवेश गर्नेछु । नेताको झोला बोकेर, मान्छेहरु भेला गरिदिएर, नेताका लागि प्लेटफर्म बनाएर म राजनीतिमा लाग्नेछैन ।’

पछिल्लो समय प्रदर्शित उनको फिल्म ‘छ माया छपक्कै’को केन्द्रिय कथा राजनीतिकै सेरोफेरोमा घुमेको थियो । चलचित्रमा उनी एक राजनीतिक कार्यक्रर्ताको रुपमा देखिन्छन् । आफ्नो गाउँ विकासका लागि नेताको झोला बोकेर हिँड्छन् । तर, आफुले जिताएर पठाएका नेताले अपेक्षाकृत विकासका कामहरु गर्दैनन् ।

काकाकुल गाउँमा धारा, पानी ल्याउने सपना अधुरो रहन्छ । तब कमरेड बिपी अर्थात दीपकराज गिरीमा राजनीतिक वितृष्णा पैदा हुन्छ । अर्को पटकको निर्वाचनमा उनी ‘नो भोट’ अभियानमा लाग्छन् । यद्यपि वर्तमान अवस्थामा आफु चलचित्रका पात्र ‘कमरेड विपी’ जस्तै स्थितीमा नरहेको उनले बताए ।

‘छ माया छपक्कैमा जस्तो हाम्रो गाउँमा आधारभूत कुराहरुको त्यती ठूलो समस्या छैन’ उनले सुनाए, ‘यो एउटा ऐतिहासिक थलो भएकाले त्यही अनुसार जनप्रतिनिधिहरुले विकास गर्छ भन्ने अपेक्षा चाहिँ छ ।’

यही सन्दर्भ जोड्दै दीपकराजलाई सोधियो, आफ्नो चलचित्रमा किन राजनीतिक मुद्दालाई प्राथमिकतासाथ उठाउनुहुन्छ रु

‘प्राय मेरो चलचित्रको कथा म आफै लेख्ने गर्छु । लेखकले त्यही कथा लेख्छ, जुन परिवेशमा उनी हुर्किएका हुन्छन् । उसले त्यही पात्रहरु निर्माण गर्छन्, जो आसपासमा दिनहुँ भेटिरहेका हुन्छन् ।’

त्यसो त उनले आफु राजनीतिक पृष्टभूमीका भएका र सिनेमाका कथाहरुमा अक्सर राजनीति घुसाउने बताउँछन् । ‘म राजनीतिक पृष्टभूमीको मान्छे, त्यसमाथि राजनीतिशास्त्रका विद्यार्थी पनि’ दीपकराज भन्छन्, ‘त्यसैले मेरो फिल्ममा कहीँ कतै राजनीति मिसिएको हुन्छ ।’