काठमाडौं नआउनुस्, आफ्नै ठाउँमा धन्यवाद र्याली गर्नूस् : बालेन शाह
जेठ ११, काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहको मेयरमा जित सुनिश्चित भएपछि धन्यवाद दिएका छन् । उनले बुधबार फेसबुकमा लेख्दै आफ्ना मतदाता, समर्थक र निर्वाचनमा सामेल भएका सबैलाई धन्यवाद दिएका हुन् । मतदाताहरूले आफूलाई काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य भएको भन्दै विश्वास गरेको बताए । उनले विश्वासमा कसैको जित वा हार नहुने बताएका छन् ।
यस्तै आफूहरूले विजय जुलुस निकालेर अरूलाई पराजित भन्ने संकेत नगर्न पनि अनुरोध गरेका छन् । ठाउँ-ठाउँबाट र्यालीका लागि काठमाडौं आउने कुराहरू एकदमै धेरै सुनिरहेका छौं । हाम्रो अनुरोध के हुन्छ भने तपाईंहरू कोही पनि र्यालीका लागि काठमाडौं आउने दुस्ख गर्नु पर्दैन । यो अभियान सबैको हो । यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौं, उनले भनेका छन । त्यसको सट्टामा आफूहरू भएकै ठाउँमा धन्यवाद र्याली गर्न अनुरोध गरेका छन्।
अभियानको अहिलेसम्मको सफलताका लागि खुसीयाली प्रकट गर्ने नै हो भने पनि तपाईं रहेकै क्षेत्रमा धन्यवाद र्यालीु गर्नु होला । त्यसले सो स्थानमा बढी प्रभाव छोड्छ, उनले भने, नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ । बालेनुहरूका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ । यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ ।
यस्तो छ बालेनको भनाइ
स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौं भनेर महानगरका मतदाताहरूले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जित वा हार हुँदैन । जित-हारलाई मतगणना सकिएसँगै सकिदिऔं । घोषणापत्रमा भएका कुराहरू लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरूलाई पराजित भन्ने संकेतसम्म पनि नगरौं ।
यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन। हाम्रो स्वयमको पनि बढीमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरू बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरूले अरूलाई छनौट गर्नु भएको छ । हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनुपर्छ । र महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ । दोस्रो, ठाउँ-ठाउँबाट र्यालीका लागि काठमाडौं आउने कुराहरू एकदमै धेरै सुनिरहेका छौं ।
हाम्रो अनुरोध के हुन्छ भने तपाईंहरू कोही पनि र्याली लागि काठमाडौं आउने दुस्ख गर्नु पर्दैन । यो अभियान सबैको हो । यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौं । अभियानको अहिलेसम्मको सफलताका लागि खुसीयाली प्रकट गर्ने नै हो भने पनि तपाईं रहेकै क्षेत्रमा धन्यवाद र्यालीु गर्नुहोला । त्यसले सो स्थानमा बढी प्रभाव छोड्छ। नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ । बालेनुहरूका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ । यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ ।
अबको बाटो सहज छैन । हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरू हुनेछ । हामीले हिँड्ने सहि बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासरूले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ । हामीलाई साथ र सुझाव जति महत्वपुर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको । हामीले बाटो बिराउन लाग्यौं भने खबरदारी गर्नुहोला। अनि हाम्रो अभियानको ऊर्जाको लागि हामी सधैं तपाईंहरूसँग जोडिरहेका हुन्छौं । तपाईंहरूको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौं ।
अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौं । हरेक टोलटोल र गाउँगाउँमा ुबालेनुहरू भेटिऊन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकून्, अवसर पाउन सकून् । अबको हाम्रो पहिलो यात्रा काठमाडौंको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडि बढौं ।






