आयोजकबाट यौन दुर्व्यवहार भएको भन्दै पत्रकार मोक्तानद्वारा पुरस्कार लिन अस्वीकार
सम्पूर्ण कुरा
पत्रकार रिना मोक्तानले चलचित्र पत्रकार संघ नेपालले ‘चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ नलिने घोषणा गरेकी छन् । आयोजक कमिटीका एक पदाधिकारीले आफूलाई पाँच वर्षअघि यौन दुर्व्यवहार गरेको भन्दै उनले सो पुरस्कार नलिने बताएकी हुन् ।सामाजिक सञ्जालबाट यसबारे जानकारी दिँदै उनले लेखेकी छन्, ‘मेरो कामको मूल्याङ्कन गरिदिएकोमा धन्यवाद । तर, घोषणा भएदेखि नै पुरस्कार लिने कि नलिने भन्ने द्विविधाले मलाई सताइरह्यो । घोषणासँगै पुरस्कारका आयोजक कमिटीका एक पदाधिकारीले करिब पाँच वर्षअघि गरेको यौन दुर्व्यवहारको घटना ताजा बनाइदियो । ममाथि यौन दुर्व्यवहार गर्ने व्यक्ति संलग्न निर्णायक मण्डलबाट पुरस्कार नलिने निर्णय गरेकी छु । त्यही संस्थाका अन्य पदाधिकारीको साथ सहयोग पहिले पनि थियो, अब पनि सहकार्य चलिनै रहन्छ ।’मोक्तानको आरोपपछि संघका अध्यक्ष दिनेश सिटौलाले यसबारे गम्भीर ध्यानाकर्षण भएको बताउँदै घटनाबारे छानबिन गर्न सुरक्षा भट्टराईको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन् ।







