राप्ती नदिको दुबै किनारमा पक्की सडक बनाउने तयारी
राप्ती नदिको दुबै किनारमा पक्की सडक बनाउनेगरी राप्ती करिडोर सरकारले अघि सारेको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीलाई लक्षित गरी नेपाल सरकार सहरी विकास मन्त्रालय र एसियाली विकास बैंकको संयुक्त लगानीमा करिडोर निर्माण हुने सहरी विकास मन्त्री मेटमणी चौधरीले जानकारी दिनुभयो । राप्ती नदिमा आउने बाढीका कारण हुने कटान, डुबानको समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्ने र नदि किनार क्षेत्रलाइ पर्यटकिय गन्तब्य बनाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
मन्त्री चौधरीले सो परियोजनाको सोमबार शिलान्यास समेत गनुएभएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षमा राप्ती गाउँपालिका १ पाखापानी ईन्टेक नम्बर २ मा करिडोरको शिलान्यास गरिएको हो । नदिको दुबै तर्फगरी १३५ किलोमिटर लम्बाईको २१ मिटर मिटर चौडा सडक निर्माण गरिने छ । जसको लागि १० अर्ब बजेट आवश्यक पर्ने सहरी विकास तथा भवन निमार्ण विभागका महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
राप्ती नदिको दाङ खण्डमा नदिको एउटा किनार ६७.५ किलोमिटर र अर्को किनार ६८.३ किलोमिटर लामो रहेको छ । राप्ती नदी किनारको दुवैतर्फ सडक कालोपत्रेसहित हरियाली पार्क, नयाँ ४ शहरसहितको बस्ती विकास हुनेछ । जस अनुसार नयाँ ठुला शहरको रुपमा भालुवाङ, गढवा, राजपुर र बाँकेको अगैयामा बस्ती विकास हुने छ । यसैबिच मन्त्री चौधरीद्वारा राप्ती गाउँपालिकाकाको चेम्बर अफ कमर्सको भवन शिलान्यास गर्नुभएको पत्रकार ओमप्रकाश गुप्ताले खवर पठाउँनु भएको छ ।