‘पासो’ मा रिस्ता र सुनिशाको कडा मिहिनेत, बक्स अफिसमा के होला ?

मङि्सर १४, २०७९


शुक्रबारबाट एक मात्र नयाँ फिल्म रिलिज हुँदैछ । यो मितिमा नयाँ नेपाली फिल्म ‘पासो’ मात्र दर्शकमाझ आउने भएकाले पनि फिल्मका लागि फाइदा हुने देखिन्छ । आर बी पुनको निर्देशनमा तयार भएको तथा भगवान भुजेल निर्माता रहेको फिल्म ‘पासो’ले निर्मातालाई राहत दिने अपेक्षा गरिएको छ । फिल्मको ट्रेलरबाट नै यसको कथावस्तु केही भिन्न रहेको र प्रस्तुतिमा निर्देशकले नयाँपन खोजेको अनुमान गर्न सकिन्छ ।

यो फिल्मको मुख्य भूमिकामा नायिका रिस्ता बस्नेत र कलाकार सुनिशा बजगाँईको अभिनय छ । दुई नायिका केन्द्रित फिल्मले महिला अपहरण, बलात्कार र बिद्रोहको कथा भन्छ । यो फिल्ममा काम गर्दा आफू १० दिनसम्म एउटा बक्सा भित्र बन्द भएको रिस्ताले बताइन् । फिल्म खिच्दा खिच्दै कैयौं पटक आफूले अब काम गर्न सक्दिनँ समेत भनेको रिस्ता बताउँछन् । कतिपय समयमा त पेन किलर खाएर काम गरेको उनले सुनाइन् ।

सुनिशाले भने ५ दिनसम्म हात बाँधेर काम गरेकी थिइन् । ५ दिनसम्म हात बाँधेर काम गर्दा निक्कै गलेको अनुभव सुनाउँदै सुनिशाले दर्शकले फरक स्वादको फिल्म हेर्न पाउने तर्क गरिन् । फिल्म ‘पासो’ का लागि यी दुई नायिका विगत केही दिनदेखि प्रचारमा व्यस्त छन् । दुबै नायिकाले आफूहरुले गरेको दुःख दर्शकले स्विकार गर्ने अपेक्षा गरेका छन् ।