दशैंमा ‘हेभिवेट’ फिल्मको भिडन्त

जेठ २४, २०८१


असोज महिना घरेलु फिल्मका लागि व्यस्त महिना हुने भएको छ । दशैंलाई लक्षित गर्दै उक्त महिनामा ‘हेभिवेट’ फिल्म रिलिज तयारीमा छन् । अहिलेसम्म सात फिल्मले उक्त महिनामा प्रदर्शन मिति घोषणा गरेका छन् । जसअनुसार असोज ३ गते ‘ह्रस्वदीर्घ’, ‘खुस्मा’ र ‘आउट ल’ ले प्रदर्शन मिति घोषणा गरिसकेका छन् ।

असोजको दोस्रो सातामा कुनैपनि फिल्मले प्रदर्शन मिति घोषणा गरेका छैनन् । असोज १७ गते घटस्थापनाका दिन अर्जुन कुमारको ‘सानो संसार’ ले रिलिज मिति घोषणा गरेको छ । असोज २४ गते फूलपातीको दिनमा ‘छक्कापञ्जा ५’ ले प्रदर्शन घोषणा गरेको छ । दशैं मात्र भनेर स्वस्तिमा खड्काको ‘बेहुली फ्रम मेघौली’ ले मिति घोषणा गरेको छ तर दशैंको कुन मितिमा आउने उल्लेख छैन ।

सन्तोष सेनको ‘बलिदान’ ले पनि उक्त मितिमा आउने घोषणा सुरुमै गरेको हो । तर दशैंको कुन मितिमा आउने उल्लेख छैन । छायांकन सुरु भइनसकेकाले यो फिल्म निर्धारित मितिमा नआउन पनि सक्छ । यसबारे निर्देशक सेनले केही उल्लेख गरेका छैनन् । सेप्टेम्बर १७ देखि अक्टोबर १६ सम्म असोज महिना हुने भएकाले उक्त मितिमा केही चर्चित विदेशी फिल्म आउनेछन् । जसले प्रदर्शन क्यालेन्डर थप पेचिलो बन्नसक्छ ।

फूलपातीकै दिनमा जुनियर एनटीआर स्टारर दक्षिण भारतीय फिल्म ‘देवारा स् पार्ट वन’ आउनेछ । असोज महिनाभित्र बलिउडको ‘भुलभुलैया ३’, ‘सिंघम ३’ र हलिउडको ‘भेनम’ आउने सम्भावना पनि छ ।

फिल्म नजुधाउन चलचित्र संघको आग्रह

प्रदर्शक र वितरकको छाता संस्था चलचित्र संघले असोजको एउटै मितिमा ठूला फिल्म आउने भएपछि यसतर्फ चासो दिएको छ । उसले वितरक र निर्मातालाई फिल्म नजुधाउन समेत आग्रह गरेको छ । संघका प्रवक्ता तथा महासचिव सुरेन्द्र थापाले असोज महिनाको रिलिज क्यालेन्डर लगायतका विविध समसामयिक विषयमा छलफल गर्न कार्यकारी सदस्य, वितरक र उपत्यका सभापति लगायतलाई छलफलमा बोलाइएको बताए ।

संघले असोज महिनामा फिल्म जुध्ने भएपछि यसबारे रणनीति तय गर्ने बुझिएको छ । ‘हामीले सकभर फिल्म नजुधाउन आग्रह गर्ने हो । थिएटरले दुईभन्दा बढी फिल्म नधान्ने अवस्था छ,’ थापाले भने, भएन भने सुरुमै रिलिज डेट घोषणा गर्ने फिल्मलाई रिलिज गर्ने तरिकाले पनि जान सकिन्छ ।’ तर छलफलपछि मात्र यसबारे टुंगो लाग्ने उनको भनाइ छ । निर्माताले एकपक्षीय ढंगले प्रदर्शन मिति घोषणा गरेपछि प्रदर्शक संस्था दबाबमा परेको छ ।