पूर्णबहादुरको सारंगी’ बाबु र छोराबिचको भावनात्मक कथा हो : निर्देशक पौडेल
फिल्म ‘पूर्णबहादुरको सारंगी’ एउटा विशुद्ध परिवारको कथा भएको निर्देशक सरोज पौडेलले बताए । फिल्मले बाबु र छोराबिचको भावनात्मक सम्बन्धको कथा फरक तवरबाट पेस गर्ने उनको भनाई थियो । ‘स्याउ अन्तको भन्दा जुम्लाको फरक हुन्छ नि’, पौडेलले भने, ‘हाम्रो फिल्मको कथा पनि त्यस्तै हो ।’ ‘पूर्णबहादुरको सारंगी’ जुम्लाको स्याउ जस्तै भएको उनको भनाई थियो ।
आइतबार आयोजित एक कार्यक्रममा निर्देशक पौडेलको फिल्ममा सारंगीलाई पात्रको रूपमा पेस गरेको समेत जानकारी दिए । ‘हाम्रो र सबैका लागि सारङ्ंगी प्रिय मौलिक बाजा हो’, उनले भने । अभिनेत्री अञ्जना बराइलीले फिल्म ‘पूर्णबहादुरको सारंगी’मा दर्शकले आफूलाई भिन्न रूपमा देख्न सक्ने बताइन् । फिल्मबाट आफूले निकै आश गरेको बताउदै उनले भनिन्, ‘हामी भर्खर मोफसल टुर गर्यौं, जहाँ दर्शक निकै उत्साहित भएको पायाँ ।
फिल्म मार्फत अभिनेता विजय बराल पहिलो पटक शीर्ष ‘पूर्णबहादुर’को भूमिकामा देखिँदैछन् । फिल्म आफ्ना लागि विशेष रहेको बरालले बताए । ‘फिल्ममा म पहिलो पटक मुख्य भूमिकामा देखिँदै छु । त्यस हिसाबले एक्साइटेट छु नै’, बरालले भने ‘मुख्य भूमिका भारी फिल्म हुदोरहेछ ।’ फिल्मको सफलता असफलताको जस आफूमै जाने भएकोले पनि भारी महसुस गरेको उनले सुनाए । ‘फिल्म बाबुले छोराप्रति देखेको सपना हो । ‘फिल्मभित्र केही चीज छ, जुन हेरिरहँदा तपाईंलाई महसुस हुन्छ’, उनले थपे ।
फिल्म नेपाल रिलिजको एक सातापछि मात्र विदेशमा रिलिज गर्न लागिएको छ । निर्माता प्याट्रिक सुवेदीले विदेशमा पनि फिल्मको चर्चा राम्रो रहेकोमा खुसी व्यक्त गरे । उनले फिल्म भिन्न खालको बनेको हुनाले यसको चासो धेरै भएको धारणा राखे ।‘पूर्णबहादुरको सारंगी’ लक्ष्मीपूजाको अवसर पारेर बिहीबारदेखि प्रदर्शन हुँदैछ । फिल्ममा विजय र अञ्जनासहित प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको अभिनय छ । विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ ।