हाजिरीजवाफ प्रतियोगितामा ज्ञान ज्योति मा.वि.प्रथम

जेठ १७, २०८२


जेष्ठ १६, तुलसीपुर नगर जेसिसले आयोजना गरेको माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता- २०८२ मा ज्ञान ज्योति मा.वि.तुलसीपुर प्रथम भएको छ । ‘Rise Together for Better Tomorrow’ भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा तुलसीपुर क्षेत्रका निजी तथा सामुदायिक गरी १९ वटा विद्यालयको सहभागीता रहेको थियो । प्रतियोगिता पाँच चरणमा सञ्चालन गरिएको थियो ।

पहिलो चरण सेलेक्सन राउन्ड, दोस्रो जनरल राउन्ड, तेस्रो र्यापिड फायर राउन्ड, चौथो मल्टिमिडिया राउन्ड र पाँचौं चरण बजर राउन्डको रूपमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा ज्ञानज्योति मा.वि. तुलसीपुरले प्रथम स्थान हासिल गरेको थियो, भने अमर मा.वि. कालाखोला द्वितीय, हिमाल एकेडेमी तुलसीपुर तृतीय हुन सफल भएको थियो । त्यस्तै गोरखा मा.वि.तुलसीपुर सान्त्वना भएको छ । विजयी टिमलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

तुलसीपुर नगर जेसिसका अध्यक्ष सन्दिप भुसालको अध्यक्षता तथा नेसनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यता एवं नेसनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि शर्माले विद्यार्थीलाई किताबी ज्ञानसँगै प्रतियोगितामार्फत व्यवहारिक ज्ञान र आत्मविश्वास बढ्ने भन्दै यस्ता कार्यक्रमहरूले नेतृत्व विकासमा सहयोग पुर्‍याउने बताउनुभयो । विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । प्रतियोगिताको सहजीकरण अध्यक्ष सन्दिप भुसालले गर्नुभएको थियो ।