हिरो बन्नु मात्रै ठुलो कुरा होईन : निखिल उप्रेती

बैशाख १७, २०७७


 

निखिल उप्रेती नेपाली फिल्म क्षेत्रका चर्चित एक्सन स्टार हुन् । थुप्रै हिट फिल्म दिएका निखिलले फिल्म अभिनयमा १८ वसन्त बिताइसकेका छन् । यो अवधिमा उनले ७ तलाबाट हामफाल्नेदेखि विभिन्न अवार्ड र पुरस्कार जितेर समेत विभिन्न रेकर्ड राख्न सफल छन् ।  तर उनी यसलाई जीवनको महत्त्वपूर्ण उपलब्धि भन्दैनन् । यो जीवनको एक हिस्सा हो भन्छन् ।

अन्य सेलिब्रेटी झैँ उनी पनि घरमै बसिरहेका छन् । फरक यति मात्र हो, अन्य सेलिब्रेटी फिल्म हेर्ने, इन्टरनेटमा रमाउने लगायत गरिरहका छन् । उनी भने अध्ययन र ध्यान गर्छन् । अन्य सेलिब्रेटी गीत, कविता र उपन्यास अध्ययन गर्र्ने गर्दछन् उनी भने दर्शन, मेडिकल, इन्जिनियरिङ सम्बन्धी अध्ययनमा लकडाउन समय बिताइरहेका छन् । अभिनेता निखिल उप्रेतीकै शब्दमा यस्तो छ उनको लकडाउन डायरीः

यो लकडाउन मेरा लागि एउटा अवसर बनेर आयो । जीवन सधैँ भागदौडमा बितिरहेको थियो । अहिले भने जीवनमा जान्न चाहेका, बुझ्न खोजेका सबै कुरा अध्ययन गर्ने अवसर पाएँ ।

हरेक दिन बिहानै उठ्छु । ध्यान, योगा, मेरिटेसन गर्छु । यो नगरे त खाएको कसरी पचाउने । अर्काे कुरो फिट हुनका लागि त्यो सबै गर्नुपर्छ ।

त्यसपछिको सबै समय मेरो अध्ययनमा बित्ने गर्दछ । अहिले अध्ययनबाहेक मेरो अन्य केही काम छैन ।

अध्ययन पनि मेरो आफ्नै किसिमको रहेको छ । अहिले म उपन्यास, गीत, कविता, कथाभन्दा पनि दर्शन, मेडिकल, इन्जिनियरिङ लगायतका विषय पढिरहेको छु ।

हुन त अहिले मैले पढिरहेको विषय सुन्दा धेरैलाई अचम्म लाग्छ होला, फिल्म क्षेत्रको कलाकार, अध्ययन भने विभिन्न गरिरहेको छ भनेर ।

फिल्म क्षेत्र मैले गरेको कर्म हो । मैले काम पनि यही क्षेत्रमा पाएको हो । फिल्म क्षेत्रमा नपाएको भए अर्काे काम गर्थंे होला ।

फिल्म क्षेत्रमा हिरो बन्छु भन्ने सोच र तयारीले भित्रिएको थिइनँ । फिल्म निर्देशन अध्ययन गरेको मानिस म, हिरो भएँ ।

यो क्षेत्रमा १८ वर्ष बित्यो । पहिला फिल्म क्षेत्रमा सुपरहिट हुँदा पनि मैले यो कुरा भनेको थिएँ । अहिले पनि भन्छु । हिरो बन्नका लागि जन्मिएको पनि होइन म । मेरो जीवनको उद्देश्य पनि यो थिएन । हिरो हुनु सानो कुरो हो भनेर पहिलेदेखि भन्दै आएको थिएँ । अहिले पनि दोहोर्याएँ ।

त्यसैले लकडाउन फिल्मी त परैजाहोस् टिभी र समाचार समेत धेरै हेरेको छैन ।

मानिसहरु अहिले यति बेचैन छन् कि समाचार सुन्न नचाहे पनि आएर सुनाउँछन् । मिडियामा हेर्दा बरु केही समाचार छुट्ला तर अरुले सुनाएकोमा केही छुट्दैन । यो समय केही फिल्मकर्मी नयाँ फिल्मको तयारीमा लागेका होलान् । मेरो केही तयारी छैन । किनभने म हरहमेसा स्क्रिप्ट र नयाँ कन्सेफ्ट बनाइरहेको हुन्छु ।

मलाई लाग्छ अब फिल्म निर्माण गतिले छिटै रूप लिँदैन होला । किनभने अहिलेको अवस्था सामान्य भयो भने पनि थिएटरमा दर्शक जान करिब एक वर्ष लाग्ला ।

पछिल्लो समय नेपाली फिल्म उद्योग सानो भएर खुम्चिएको छ । कमेडी र हल्काफुल्का जोक्स्मा आएर अड्किएर छ । मैले बनाउने फिल्मको कन्सेप्ट एक्सन हुन्छ । यो जहिले पनि महँगो खालको हुन्छ । धेरै खर्च गरेर फिल्म बनाउने अवस्था अहिले छैन ।

त्यसैले पनि २, ३ वर्षदेखि मैले फिल्मका लागि काम नगरेको हो ।प्रकृतिले हामीलाई पहिलेदेखि नै केही न केही सिकाइरहेको छ । कोरोनाले अहिले त्यो कुरो रियलाइज गरायो भन्ने मेरो धारणा हो । हामी प्राकृतिक हुनपर्छ भन्ने हो ।

यो कुरो बुझ्नेले बुझ्छन् नबुझ्नेले बुझ्दैनन् । त्यो मानिसको सोचमा फरक पर्ने कुरो हो ।

तर कोरोनाले हामी प्राकृतिक हौँ । प्रकृतिक हुनुपर्छ । प्रकृतिभन्दा बलियो कोही छैन । प्रकृति बुझेर यसको लय पक्रिनुमा हाम्रो भलाइ छ भनेर बुझाएको छ ।

कोरोनाले सबै व्यक्ति मर्दैनन् । तर जीवनमा सबै व्यक्तिले मर्नुपर्छ । जन्मिएको मर्नका लागि हो । जीवन एक किसिमले सोच्ने हो भने महामारी नै हो ।