प्राविधिकलाई पल शाहको ५ लाख सहयोग

चैत २३, २०७६


कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले दुई हप्ता लामो ‘लकडाउन’ गरेपछि नेपाली फिल्मका हरेक गतिविधि ठप्प भएका छन् । कोरोनाको त्रासले फागुनबाटै फिल्म प्रदर्शनमा आउन छाडेका थिए भने ‘लकडाउन’ पछि फिल्मको छायांकन पनि रोकिएको छ । जसले गर्दा फिल्ममा मजदुरी गरेर परिवार पाल्ने प्राविधिकहरुलाई आर्थिक संकट परेको छ ।

‘लकडाउन’ पछि फिल्म प्राविधिकहरुलाई बिहान बेलुका हात-मुख जोर्नै समस्या भएपछि चलचित्र प्राविधिक संघले फिल्मकर्मीसँग सहयोगको अपिल गरेको थियो । शुक्रवार ‘छक्का पञ्जा’ टिमले प्राविधिकहरुका लागि १ लाख १० हजार दिने घोषणा गरेको केही घण्टापछि अहिलेका हटकेक अभिनेता पल शाहले पनि सामाजिक सञ्जालको माध्यमबाट सहयोग रकम घोषणा गरेका छन् ।

फेसुबकमा स्टाटस लेख्दै अभिनेता शाहले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका प्राविधिकहरुलाई आफ्नो व्यक्तिगत तर्फबाट ५ लाख सहयोग गर्न लागेको जानकारी गराएका हुन् । ‘विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूको जनजीवनलाई सहज बनाउनको लागि आर्थिक सहयोग गर्ने घोषणा गर्दछु,’ उनले लेखेका छन् ।