कोरोना त्रास : कालिमाटी तरकारी बजार आजदेखि बन्द

चैत २७, २०७६


कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार आजदेखि बन्द गरिएको छ । काठमाडौँ महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको हो ।

बजारमा तरकारी भित्रिए पनि कारोबार भने महानगरले तोकेका बजारबाट मात्रै गरिने छ ।महानगरपालिकाले लकडाउनको अवधिभर र कोरोना भाइरस नियन्त्रण नहुँदा सम्मका लागि विभिन्न ११ स्थानमा अस्थायी बजार स्थापना गरी बिक्री वितरणको प्रबन्ध मिलाउन कालीमाटी समिति र थोक व्यापारीलाई आग्रह गरिसकेको छ ।

तरकारी बिक्रीका लागि आवश्यक स्थान पनि महानगरपालिकाले उपलब्ध गराउने जनाएको छ । महानगरपालिकाका अनुसार काठमाडौँको खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु लगायतका ११ स्थानमा तरकारी बिक्रीको प्रबन्ध गर्ने गरी तयारी थालिएको छ ।