कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ हजार नाघ्यो, चीनमा पनि भेटिए नयाँ सक्रमित

चैत २८, २०७६


विश्वभर महामारीमा रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ७२२ पुगेको छ । विश्वका २०९ देशमा फैलिएको कोरोनाबाट बितेको २४ घण्टामा मात्रै ८५ हजार १० नयाँ संक्रमित फेला परेका छन् भने ज्यान गुमाउनेको संख्या ७ हजार २३४ छ ।

यो सँगै कोरोना भाइरस संक्रमितको संख्या १६ लाख ३ हजार ४२८ पुगेको छ । संक्रमितमध्ये ३ लाख ५६ हजार ४४० जना उपचारपछि घर फर्किएका छन् । अहिले ११ लाख ५१ हजार २७४ जना कोरोना भाइरसको उपचारका लागि अस्पताल तथा आइसोलेसनमा छन् । उपचाररतमध्ये ४९ हजार १२५ जनाको अवस्था चिन्ताजनक छ । चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण अहिले चीनमा धेरै नियन्त्रणमा आएको छ ।

हिजो र अस्ति नयाँ संक्रमण नदेखिएको चीनमा आज दुई जनाको मृत्यु भएको छ । ६३ जना नयाँ संक्रमित फेला परेका छन् । चीनमा अहिले १ हजार १६० जना मात्र अस्पतालमा उपचाररत छन् । ती मध्ये १८६ जनाको अवस्था चिन्ताजनक छ । कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा आजमात्रै ३३ हजार ५३६ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ६८ हजार ५६६ पुगेको छ ।

बितेको २४ घण्टामा १ हजार ९ सय जनाले ज्यान गुमाउँदा अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ हजार ६९१ पुगेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ६५५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ४४७ पुगेको छ । स्पेनमा एकैदिन ५ हजार २ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५३ हजार २२२ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ५२ हजार १६५ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८५ हजार ६१० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ३४१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार २१० पुगेको छ ।